बागलुङ जीप दूर्घटनामा ज्यान गुमाउने १४ जनाकै सनाखत

 

गुल्मी, मंसिर १७ ।

गुल्मी र बाग्लुङको सिमाना भिङगिठेमा जीप दूर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बाग्लुङको निसीखोला गाउँपालिका लागि छुटेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा दूर्घटनामा परेको हो ।

घटनामा एक जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । तीन जना गम्भीर घाइते छन् ।

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् । उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

गुल्मीको इस्माबाट २४ जना जीपमा सवार रहेको र बीचमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्कोमा पठाएको थियो । दूर्घटनाग्रस्त जीपमा १८ जना सवार रहेको बताइएको छ ।

जीपमा सवार सबै गुल्मीबाट कुल पूजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिँडेका थिए । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

दूर्घटनामा परेकालाई लिन दूर्घटनास्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद् एवं पूर्वमन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाइतेलाई काठमाडौं लगेका थिए । विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दूर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षति पुगेको जनाए ।(अनलाइनखबरबाट साभार)