बलिउड अभिनेत्री सन्नी लियोनीले नेपाली फिल्ममा अभिनय गर्ने

एजेन्सी, भदौ ९ ।
बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनेता अनुपविक्रम शाहीसँग स्क्रिन सेयर गरेर नेपाली फिल्म ‘पासवर्ड’ खेल्ने भएकी छन् । बेलायतमा हुने सुटिङ हुने फिल्मलाई सम्राट बस्नेतले निर्देशन गर्ने भएका छन्। आफूले पासवर्डमा सन्नी लियोनीसँग स्क्रिन सेयर गर्न लागेको शाहीले भने ।

‘कति रूपैयाँमा सन्नी अनुबन्ध भएकी हुन् यसबारे मलाई थाहा छैन तर उनी नेपाली फिल्म खेल्न तयार भएकी छन्,’ शाहीले भने । स्रोतका अनुसार १ करोडभन्दा बढी भारतीय रूपैयाँ लिएर सन्नीले नेपाली फिल्म खेल्न लागेकी हुन् । आगामी अगस्ट २६ बाट फ्लोरमा जाने फिल्मको लागि सन्नी र अनुप लण्डन जाने भएका छन् ।

छायाँकार तथा प्राविधिकसहितको टोली यसअघि नै नेपालबाट बेलायत पुगिसकेको छ । फिल्मलाई विक्रम जोशीले निर्माण गर्न लागेका हुन् । विक्रम फिल्ममा अनुप र सन्नीसँगै लिड अभिनयमा रहनेछन् । सन्नीको आवागमनले नेपाली फिल्मलाई नयाँ उचाइ दिने भन्दै शाहीले नेपाली र बलिउड कलाकारको फ्यूजन जोड्नको लागि नै सन्नीलाई लिएको बताए ।

अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने फिल्ममा छुल्ठिम गुरुङ, वुद्धि तामाङ, विक्रान्त बस्नेत, रवीन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन्। लण्डनसँगै बर्नमाउथ र ससेक्स लगायतका ठाउँमा फिल्म खिचिने बताइएको छ ।

२०१९ को सुरुवातीमा रिलिज मिति लक्षित गरी बनाइने फिल्ममा सन्नीले एक आइटम दृश्य दिने छिन् भने केही भाग अभिनयमा पनि हुनेछिन् । एबी इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्मलााई सौरभ लामाले खिच्नेछन् । सस्पेन्स थ्रिलर तथा एक्सन लभस्टोरीको आसपास फिल्म हुने निर्माण पक्षले जनाएको छ ।