बलात्कारबाट जोगिन धनगढीमा १५ सय महिला मार्सल आर्ट सिक्दै

कञ्चनपुर, असोज २१ ।
बलात्कारका घटना दिनहुँ बढ्न थालेपछि धनगढीमा महिलाहरुलाई आत्मरक्षा तालिम दिईएको छ । राष्ट्रिय गोजुरियो कराँते–दो संघले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा शनिबार किशोरी र महिलाका लागि ‘उमेन्स सेल्फ डिफेन्स क्याम्प २०१८’ अन्तर्गत आत्मरक्षाको तालिम दिन थालेको हो । तालिममा झण्डै १ हजार ५ सय महिला सहभागि छन् ।

उनीहरुले आपतकालीन अवस्थामा आफ्नो सुरक्षाका टिप्सहरु सिकेका छन् । उनीहरूलाई पहिलो दिन भएकाले सामान्य रूपमा आफूलाई कसैले समात्न खोजे कसरी ‘डिफेन्स गर्ने, आत्मबल कसरी बढाउने, समात्ने मान्छेको कुन कुन ठाउँमा हान्यो वा टोक्यो भने फुत्किन सकिन्छ, कसैले समात्यो वा समात्न खोजे कसरी चिच्याउने, चिच्याउँदै भीड वा मानिस भएको स्थानतिर जाने जस्ता कौशल सिकाइएको थियो ।

तालिम २६ दिनसम्म चल्नेछ । क्याम्पमा विभिन्न विद्यालयका गरी १५ सय हाराहारीमा किशोरीहरूको सहभागिता छ । क्याम्पमा किशोरी मात्र होइन, महिला पनि सहभागी छन् । किशोरी र महिलाको एकदमै उत्साहजनक सहभागिता रहेको आत्मरक्षा क्याम्पको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे । प्रदेश सरकारले महिलाका लागि आत्मरक्षा र आत्मबल बढाउने खालको कार्यक्रम ल्याइरहेको उनले बताए ।

निर्मला पन्तको बलात्कारपछिको हत्याले यो तालिम आवश्यक भएको आयोजक राष्ट्रिय गोजोरियो कराते दो संघले जनाएको छ । क्याम्प संयोजक तथा संघका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले अब महिला निरीह भएर हिँड्नु नपर्ने, स्वाभिमानपूर्वक हिँड्नुपर्छ भनेर मोटिभेसन तालिम पनि दिइने बताए ।

नेपाल प्रहरीको तथ्यांकअनुसार सुदूरपश्चिमका कैलाली कञ्चनपुर, बैतडी, डडेलधुरा, डोटी, अछाम, बाजुरा, दार्चुला र बझाङमा गत आव २०७४÷७५ मा १४ सय ८० बलात्कारका मुद्दा दर्ता भएका छन् ।