बलात्कारपछि हत्या गरिएकी श्रेयाको १० दिन पछि दाहसंस्कार

पोखरा, असोज १८ ।
बलात्कारपछि हत्या गरिएकी पोखरा २२ पुम्दीभुम्दीकी श्रेया सुनारको बुधबार दाहसंस्कार गरिएको छ । अस्पतालबाट शव बुझेर आफन्तले अन्तिम संस्कार गरेका हुन् । प्रशासनले अपराधीमाथी कडा कारबाही गर्ने बचन दिएपछि शव बुझेको आफन्तले बताएका छन् ।

श्रेयाको शव ९ दिन देखि पोखराको स्वास्थ्य बिज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको थियो । अन्तिम संस्कारका बेला कास्की प्रहरी प्रमुख एसपी ओम रानाले अपराधी कानुनी कठघरामा पुगिसकेकोले जन्मकैदसम्मको कारबाही हुने बताए ।

श्रेयाकै छिमेकी २७ बर्षिय कुशुम पौडेल हत्या आरोपमा पक्राउ परेका छन् । स्थानीय लिला आधारभूत स्कुलको ३ कक्षामा पढ्ने १० बर्षिया बालिका श्रेयाको असोज ८ गते साँझ हत्या भएको थियो ।