बलात्कारपछि हत्या गरिएकी श्रेयाको शव आफन्तले बुझ्दै

पोखरा, असोज १७ ।
पोखरा २२ पुम्दीभुम्दीकी १० बर्षिय बालिका श्रेया सुनारको शव आफन्तले बुझ्दैछन् । बलात्कारपछि हत्या गरिएकी उनको शव ९ दिनपछि आफन्तले बुझ्न लागेका हुन् । बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उनीहरुले शव बुझ्न लागेका हुन् ।

श्रेयाको असोज ८ गते साँझ बलात्कारपछि हत्या भएको थियो । हत्या आरोपमा उनकै छिमेकी कुसुम पौडेल पक्राउ परिसकेका छन् । उनलाई जबरजस्ती करणी र कर्तब्य ज्यान मुद्धामा म्याद थप गरि अनुसन्धान अघि बढाईएको छ ।

हत्यारा पत्ता लागिसकेको र हत्या स्विकार गरेकोले शव बुझ्न तयार भएको स्व. श्रेयाकी ठुलोममी कल्पना रसाईलीले बताईन् । कुसुमले सरकारी वकिलसँग पनि आफैले मारेको वयान दिएका छन् । ‘हत्यारा पत्ता लागिसकेको अवस्थामा अस्पतालभित्रै लास राखेर पनि हुँदैन । घरमा आमाको अवस्था झन्झन् कमजोर भैरहेको छ, उनले भनिन्–अहिले आफन्त र संघर्ष समितिले शव बुझ्ने र आजै दाहसंस्कार गर्ने तयारी गरिएको छ । सम्बन्धित निकायमा पनि आवश्यक दवाव दिईरहन्छौं ।’

असोज ८ गते साँझ हत्या गरिएकी श्रेयाको हत्यारा भोलिपल्टै पक्राउ परेका थिए । बलात्कारपछि ढुंगाले हानेर श्रेयाको हत्या गरेको स्विकार कुसुमले गरेका छन् । ११ बजे शव बुझेर रामघाटमा दाहसंस्कार गरिने रसाइलीले बताइन् ।