बनेकै ६ बर्षपछि भ्यू टावर उद्घाटन

पोखरा, पुस ३० ।
कास्की र स्याङजाको दोसाँधमा रहेको मट्टिखानको भ्यू टावर निर्माणको ६ बर्षपछि उद्घाटन गरिएको छ । टावरको आईतबार नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तनहूँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का सांसद किरण गुरुङले उद्घाटन गरे । २०६३ सालमा शिलान्यास गरिएको टावर २०६९ सालमा बनिसकेको थियो । टावर उद्घाटनकै लागि अहिले सामान्य रंगरोगन मात्रै गरिएको छ । नेपाल सरकारको ६२ लाख र ११ लाख जनश्रमदान गरी ७३ लाख लागतमा टावर निर्माण गरिएको हो । मट्टीखानबाट पोखरा र कास्की सहित आसपासका १३ जिल्लाको दृश्यावलोकन गर्न सकिन्छ ।
टावर उद्घाटनपछि बोल्दै गुरुङले मट्टीखानको विकास र पर्यटकीय चहलपहल विस्तारका लागि आँफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन विकासका लागि स्थानीयको सक्रियता महत्वपूर्ण हुने भन्दै त्यसका लागि तल्लो तहबाटै प्रबद्र्धनात्मक काम गर्न सुझाव दिएका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले संरचना निर्माणपछि त्यसको ब्यवस्थापन र प्रयोगलाई जोड दिनुपर्ने बताए । कास्की २ (क) का सांसद कृष्ण थापाले मट्टीखान बैकल्पिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने र त्यसका लागि आँफु प्रतिबद्ध रहेको धारणा राखे ।स्याङजा १ (क)का सांसद मीनप्रसाद गुरुङले दुवै जिल्लाको सीमानामा रहेको मट्टीखान ऐतिहासिक र पर्यटकीय दृष्टीले रणनीतिक भएको भन्दै दुवै जिल्लाको समन्वयबाट विकास निर्माणका काम गर्नुपर्ने बताए । स्याङजा १ (ख) का दीपक चर्तीमगरले
नेपाली काँग्रेसका नेता देवराज चालिसे विकासमा राजनीतिक गन्ध मिसिन नहुने बताउँछन् । सबैको साथ र सहयोगबाट मात्रै विकास र समृद्धी सम्भव हुने भन्दै उनले राष्ट्रिय समुन्नती सबैको साझा एजेण्डा भएको उल्लेख गरे । कार्यक्रममा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज राजकाजी गुरुङ, फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, पोखरा २१ का वडाध्यक्ष खगराज आचार्य, समाजसेवी याम पौडेल, सन्तबहादुर गुरुङ, गणेशमान गुरुङ लगायतले मट्टीखानको एकीकृत विकास योजना अनुसार काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले टावरको प्रयोग बहुउपयोगी हिसावले गर्नुपर्ने सुझाव दिएका छन् । टावरका निर्माण समितिका उपाध्यक्ष देवीबहादुर थाापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बेदप्रसाद सुवेदीले गरेका थिए ।