बतासलाई उत्कृष्ट डिलर अवार्ड (कसरी भयो उत्कृष्ट ?)

पोखरा, भदौ १२ ।
पोखराको बतास अर्गनाइजेसनले उत्कृष्ट अवार्ड जितेको छ । भारतको भोल्भो आइचर कमर्सियल भेइकल लिमिटेडको उत्कृष्ट डिलर बतासले जितेको हो ।

लामो समय देखि पोखरा लगायत नेपालका विभिन्न ठाउँहरुबाट सेवा सञ्चालन गर्दै आएको बतासले गत बर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी विक्रि गरेको थियो । विश्वब्यापी प्रतिश्पर्धाबाट ३ सय ५२ डिलरमध्ये बतासले यो अवार्ड जितेको हो ।

कम्पनिले कोरोना भाइरसका कारण बिहीबार भर्चुअल कार्यक्रममार्फत अवार्ड घोषणा गरेको हो । अवार्ड पाएसँगै अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले सबै कर्मचारी र शुभेच्छुकलाई धन्यवाद दिए ।

‘यो मेरो एकल प्रयास होईन । टीमले पाएको सफलता हो,’ उनले भने, ‘डिलर लिएदेखि अहिलेसम्म धेरैले धेरै मेहिनत गर्नुभएको छ । त्यहि मेहिनतको सफलता हात परेको छ । सबैलाई धेरै धन्यवाद ।’ सुरुमा २ सय वटा गाडी बेच्ने कम्पनीले अहिले बर्षेनी २ हजार २ सय भन्दा बढी गाडी बेच्छ ।

‘बर्षौदेखि एउटै कम्पनीको राज थियो । त्यो समय अरुलाई विश्वास कसैले गर्दैनथे,’ बतास भन्छन्, ‘हाम्रो कम्पनीले त्यो एकाधिकार तोडिदियो । अहिले सबैको रोजाइमा आइचर छ ।’ उनका अनुसार विक्रिपछिको सेवालाई ध्यान दिएका कारण ग्राहकको रोजाइ बढेको हो ।

‘प्रत्येक १ सय किलोमिटरमा सानोठूलो सर्भिस सेण्टर छ । पूर्वदेखि पश्चिमसम्म सेवा पु¥याएका छौं,’ उनले थपे, ‘सर्भिस सेण्टरमा मात्रै ५१ करोड भन्दा बढी लगानी भएको छ । त्यसमा पनि बलियो टीम छ ।’ नेपालभरी १४ ठाउँमा सर्भिस सेण्टर खोलिएको छ ।

आइचरका २४ हजार भन्दा बढी गाडी अहिले नेपालमा गुड्छन् । ति सबै गाडी बतासले बेचेको हो ।