बजेट खारेज गरेर नयाँ बनाउन नयाँ शक्तिको माग

पोखरा, असार १२ ।
सरकारले असार १ गते प्रश्तुत गरेको बजेट बक्तब्य अनुसार विनियोजन विधेयक नआएको भन्दै असार ५ गतेदेखि काँग्रेसले सदनमा अवरोध सिर्जना ग¥यो । काँग्रेसको विरोध हुने भएपछि सभामुखले बैठक बस्नै नदिई दुई पटकसम्म स्थगित गरिदिए । अन्त्यमा सरकारले सिस्टमबाट छुटेको भन्दै केही कार्यक्रम थपिदियो ।

काँग्रेसले संसदमा अवरोध गरेन र नियमित रुपमा बैठक चलिरहेको छ । विशेषगरि सिञ्चाईका आयोजनाहरु थपिएका छन् । कास्की, नवलपुर र तनहूँमा सिंचाईका थप आयोजना र कार्यक्रम सरकारले खेस्राको रुपमा सांसदलाई बाँडेको छ । कार्यक्रम थपिएपछि काँग्रेस खुशी भएपनि नयाँशक्ति भने असन्तुष्ट देखिएको छ ।

खेस्रा बजेट खारेज गरेर पूरै नयाँ कार्यक्रम बनाउनुपर्ने भन्दै सांसद हरिशरण आचार्यले विरोध जनाए । सरकार जिम्मेवार भएर बजेट तथा कार्यक्रम ल्याउनुपर्ने भन्दै उनले कसैले विरोध गरेका आधारमा पटक पटक खेस्रा कार्यक्रम थप्नु नहुने उनको तर्क छ । ‘प्रतिपक्षी दल सबैले विरोध गरेर सरकारले खेस्रा बजेटको अर्को पेपर ल्याएको छ । प्रमुख प्रतिपक्षी दल आँफुलाई छायाँ सरकार भन्छ । एउटा छायाँले लखेट्दा सरकार यति डराउँछ भने हामी त बैकल्पिक शक्ति हौं । बैकल्पिक सरकार नै उभियो भने चाहीँ यो सरकार के गर्छ ?,’ उनले प्रश्न गरे ।

बजेटप्रति असहमती जनाउँदै उनले बजेटको छलफल कार्यक्रम नै बहिष्कार गर्ने घोषणा गरेका छन् । पत्रकारहरुसँग कुरा गर्दै उनले सरकारको नियत गलत भएको टिप्पणी गरे । नयाँ शक्तिले बजेट नै खारेज गर्नुपर्ने माग राखेको छ । आचार्यले बुधबार संसद बैठकमा विशेष समय लिएर सम्बोधन गरेका थिए ।