बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर (सबै प्रदेशको हेर्नुस्)

पोखरा, असार २ ।
नेपालका सबै प्रदेश सरकारले आफ्नो बजेट शुक्रबार सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०७५÷७६ का लागि ल्याईएको बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर देखिएको छ । सबैभन्दा बढी प्रदेश १ मा छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले २४ अर्ब २ करोड ३३ लाखको बजेट प्रदेशसभामा पेश गरेका छन् ।

प्रदेश १ ले ३५ अर्ब ९३ करोड ६० लाखको बजेट ल्याएको छ । यो सात प्रदेशमध्येमा सबैभन्दा ठूलो आकारको बजेट हो । दोस्रो ठूलो बजेट प्रदेश ३ मा ३५ अर्ब ६१ करोड ५६ लाखको छ । तेस्रो ठूलो बजेट ल्याएको प्रदेश २ ले २९ अर्ब ७८ करोड ६९ लाख २८ हजारको आयव्यय विवरण प्रस्तुत गरेको छ । प्रदेश ५ मा मुख्यमन्त्री समेत रहेका आर्थिक मामिला मन्त्री शंकर पोखरेलले २८ अर्ब ९ करोड ३ लाखको बजेट संसदमा पेश गरेका छन् । यसैगरी प्रदेश ७ सरकारले २५ अर्ब ६ करोड ५६ लाख १४ हजार र कर्णाली प्रदेशले २८ अर्व २८ करोड २८ लाख २८ हजारको बजेट संसदमा पेश गरेको छ ।

सबैजसो प्रदेशले सांसदलाई पैसा बाँढिरहेको अवस्थामा प्रदेश ४ ले चाहीँ सांसद विकास कोषमा बजेट दिएको छैन । चर्का आलोचनाका बाबजुद केन्द्रमा मात्र होइन, प्रदेश सांसदहरुले निर्वाचन क्षेत्र विकास कार्यक्रमको माग गरे । केन्द्र सरकारले नाम फेरेर ४ करोड दिएको छ । तर, स्थानीय जनप्रतिनिधिलाई पनि राखेर समिति बनाएको भन्दै प्रतिनिधिसभा सदस्यहरुले आफूहरुको अपमान भएको गुनासो गरेका छन् ।

प्रदेशको बजेट पनि सांसदको नाममा बजेट छुट्याइएको छ । तर, प्रदेश ४ ले चाहीँ छुट्याएन । धेरै प्रदेशले २ करोड छुट्याएका छन् । प्रदेश २ ले ७५ लाख र प्रदेश ५ ले सांसदहरुका लागि एकमुष्ट ७० करोड बराबरको योजना छनोट गर्न दिने बताएको छ ।