बंगलादेशका राष्ट्रपति हमिद पोखरा आउँदैः फेवातालमा ‘बोटिङ’, रुपाकोटमा ‘साइटसिईङ’

प्रकाश ढकाल
पोखरा, कार्तिक २७ ।
चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद विहिबार (आज) पोखरा आउने कार्यक्रम छ । हमिदको साथमा ५५ जनाको टोली करिब ४ घण्टाका लागि पोखरा आउने छ । उनको स्वागतका लागि प्रदेश सरकार तम्तयार छ । मंगलबार मन्त्रीपरिषद् बैठक बसेर हमिदको स्वागत र सुरक्षाको चाँजोपाँजो सरकारले मिलाईसकेको जनाएको छ ।

विहिबार विहान ११ बजे नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा आउने हमिदले केही बेर फेवातालमा डुंगा सयर गरेर फिस्टेल लजमा लञ्च खानेछन् । करिब ४० मिनेट उनले फेवातालमा डुंगा सयर गर्नेछन् । प्रदेश सरकारले उनको लागि दिवाखानाको आयोजना गरेको छ । उनले खाना खाने होटल फिस्टेल लज बुधबार रातीदेखि नै खाली गरिएको छ भने सुरक्षाकर्मी खटाएर रेखदेख गरिएको छ । विहानको खाना खाएपछि हेलिकोप्टरबाटै उनी रुपाकोट पुग्नेछन् । रुपाकोट रिसोर्टबाट हिमाली दृष्यावलोकन गर्ने कार्यक्रम छ ।

हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङको टोलीले स्वागत गर्नेछ भने रुपाकोटमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको टोलीले स्वागत गर्ने छ । उनको स्वागतका लागि पोखराका सडक छेउछाउ नेपाल र बंगलादेशको झण्डा टाँगेर सजाईएको छ । विमानस्थलको गेटमा स्वागत द्धार बनाईएको छ भने सडक सरसफाई गरिएको छ । यस्तै, विभिन्न सांस्कृतिक झाँकी समेत प्रदर्शन गर्ने तयारी गरेको प्रदेश सरकारका प्रबक्ता रामशरण बस्नेतले जानकारी दिए ।

‘महामहिम राष्ट्रपति ज्यू को स्वागतका लागि कुनैपनि कमि हुन नदिने सरकारको निर्णय छ । सोही अनुसार सांस्कृतिक झाँकीबाट स्वागत गरिन्छ । सुरक्षा ब्यवस्था समेत निकै कडा पारिएको छ,’ सरकारको निर्णय सुनाउदै उनले भने, ‘सांस्कृतिक प्रदर्शनीका लागि पोखरा महानगर र रुपा गाउँपालिकाले ब्यवस्थापन मिलाउने छ । सुरक्षाको जिम्मा प्रदेश र जिल्ला सुरक्षा निकायलाई दिईएको छ ।’

बंगलादेशी राष्ट्रपति हमिदको पोखरा भ्रमणले नेपालकै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वास छ । यहाँका प्राकृतिक सुन्दरता र शान्ति सुरक्षाबारे विश्वले जानकारी लिने र यसबाट पर्यटक आगमन बढ्ने प्रबक्ता बस्नेत बताउँछन् । विमानस्थलमा झरेपछि महानगरले तयार गरेको स्वागत टोलीले झाँकी सहित फूलको माला र गुच्छाले स्वागत गर्ने मेयर मानबहादुर जिसीले जानकारी दिए । विमानस्थलमा प्रदेश सरकारका मन्त्रीहरु, विपक्षी दलका नेता, सांसद, विभिन्न राजनीतिक पार्टीका नेताहरु, उच्च पदस्थ कर्मचारी सहित सर्वसाधारण पनि स्वागत गर्नेछन् ।

रुपाकोटमा मुश्लिमको स्वागत

मुश्लिम समुदायका हमिद पुग्ने रुपाकोटमा मुश्लिम समुदायको बाक्लै बस्ती छ । रुपाकोटमा डेढ सय घरधुरी मुश्लिमको बसोबास छ भने सोही गाउँपालिकाको वडा नम्बर ३ पोल्याङमा पनि आधा दर्जन घरधुरी मुश्लिम समुदाय बस्छन् । हमिदलाई रुपाकोटमा सबैभन्दा पहिले मुश्लिम समुदायले नै स्वागत गर्ने कार्यक्रम छ । स्थानीय भेला भएर फूलगुच्छाले स्वागत गरेपछि मुश्लिमको झाँकी हुने छ । त्यसपछि पञ्चेबाजा, नेवारको मारुनी नाच तथा गुरुङ समुदायको घाटु र छ्याटु नाच देखाउने तयारी गरिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

‘सबै टोली तयार छन् । हेलिकोप्टर ल्याण्ड भएदेखि नउड्दासम्म स्वागतमा खटिन्छौं । खाना खाएर फर्किन हेलिकोप्टर चढेपछि हात हल्लाएर विदाई गर्ने कार्यक्रम छ,’ उनले भने, ‘सबै कार्यक्रम रिसोर्टभित्रै हुन्छ ।’ रुपाकोटमा हमिदले १ घण्टा विताउने छन् । उनी बिहीबारै हेलिकोप्टरबाट काठमाडौं फर्कने कार्यक्रम छ । शुक्रबार राष्ट्रपति हमिद स्वदेश फर्किने छन् । आदर्श समाज दैनिकमा छापिएको छ ।