फोहोरमा थिचिएको दैनिकी

प्रकाश ढकाल
पोखरा, बैशाख ३ ।
विहान उठ्यो । घरधन्दा सक्यो । खाना खाईवरी ल्याण्डफिल साईट । पोखरा १८ की सम्झना परियारको डेढबर्षदेखिको दैनिकी यस्तै छ । ‘मान्छेहरु फोहोर सुन्दा पनि घिनाउछन् । हामी दिनरात यसैमा खेल्छौं, उनले भनिन्–ज्यान पाल्नैप¥यो । मन नलागेपनि काम नगरी सुखै छैन ।’ सुरुमा अर्काले खोजेको प्लाष्टिक केलाउने सम्झना अहिले आँफै सिलो खोजेर बेच्छिन् ।

‘पैले त बंगुरलाई दाना खोज्न आको हो । साथीहरुले पैसा कमाईन्छ भनेपछि फोहोर पनि बटुल्न थालें, उनी भन्छिन्–दिनमा ५–७ सय कमाई हुन्छ । बंगुरलाई दाना पनि बटुल्छु ।’ सामान्य परिवारको घरखर्च सजिलै चल्ने उनले सुनाईन् ।
रोल्पाका १८ बर्षिय उज्वल बुढामगर दुईबर्षदेखि पोखरामा छन् । भिनाजुले फोहोर बोक्ने गाडी चलाउन थालेपछि उज्वल पनि सहयोगी भएर काममा लागे । सालाभेनाले बजारबाट बटुलेको फोहोर ल्याण्डफिल पु¥याएपछि उज्वलकी दिदिले केलाउँछिन् । पानीको बोतल, काटुन, प्लाष्टिकका झोला, गुडियाजस्ता फालिएका फोहोर बटुलेर नजिकैको गोदामवलालाई बेच्छन् ।

‘यतैको दानाले बंगुर पालेर पैसा कमाईन्छ । फोहोर बटुल्न सके यतापनि पैसो छ, उज्वलले भने–१ गडी भएपछि २५ सय ३ हजार पाईन्छ । ३÷४ दिनमा टिप पनि पुगिहाल्छ ।’ फोहोर बटुल्दा कहिलेकाहीँ विरामी पर्ने उनी बताउँछन् । कवाडी बटुलनेहरु गम्बुट, मास्क, पञ्जा लगाउँछन् । तर धेरैजसोले सामान्य सुरक्षाका पहिरन पनि लगाउँदैनन् । जसले स्वास्थ्यमा गम्भीर असर पर्ने सम्भावना हुन्छ ।

पोखरा महानगरले बनाएको ल्याण्डफिल साईटमा दैनिक १ सय भन्दा बढी मजदुर काम गर्छन् ।

पोखरा महानगरले बनाएको ल्याण्डफिल साईटमा दैनिक १ सय भन्दा बढी मजदुर काम गर्छन् । जसले कवाडी बटुलेर छाक टार्दै आएका छन् । फोहोरकै कमाईले परिवार धानिन्छन् । बगर, पृथ्वीचोक, छोरेपाटनदेखिका मजदुरहरु खाली बोतल र फालिएका काटुन खोज्न ल्याण्डफिल पुग्छन् । ‘विहान सबेरै उठेर आउने हो । भात पोको पारेर ल्याउँछु अनि दिउँसोतिर यतै खान्छु, बगरका एक बृद्धले भने–अरु काम गरौं भने कसैले दिदैन । फोहोर बटुल्न गाह्रो छ । घामपानी पनि भन्न पाईंदैन ।’

५ बर्षदेखि उनी ल्याण्डफिलमै फोहोर बटुल्दै आएका छन् । फोहोर बटुलेर कमाएको पैसाले छोराछोरी पढाउने र बिहान बेलुकीको खर्च टार्ने उनले बताए । ल्याण्डफिलमा फोहोर खोज्ने पनि दुईथरी छन् । एकाथरी गाडीसँग सम्पर्क गरेर त्यही फोहोर केलाउँछन् भने अर्कोथरी आँफुखुशी सिलो खोज्छन् । सिलो खोज्नेले गाडीको फोहोर केलाउन पाउँदैनन् ।

एकाथरी गाडीसँग सम्पर्क गरेर त्यही फोहोर केलाउँछन् भने अर्कोथरी आँफुखुशी सिलो खोज्छन् ।

मजदुरले जम्मा गरेका कवाडीका सामान ठेकेदार नारायण कार्कीले खरिद गरिदिन्छन् । त्यसकै लागि ल्याण्डफिल नजिकै उनले गोदामघर पनि बनाएका छन् । कार्कीले मजदुरसँग गुडिया किन्दा प्रतिकिलो १२ रुपैयाँ तिर्छन् । पानीको बोतल १८, काटुन ७ र प्लाष्टिकको झोलालाई १० रुपैयाँ पर्ने उनले बताए ।

कार्कीले २ बर्षदेखि ल्याण्डफिलको कवाडी उठाउने जिम्मा लिएका हुन् । कवाडी उठाएवापत महानगरपालिकालाई मात्रै बार्षिक ८ लाख रुपैयाँ राजश्व बुझाउनुपर्ने उनी बताउँछन् । ‘४५ लाख लगानी गैसक्यो । महानगरलाई बर्षमा ८ लाख बुझाउनुपर्छ, उनले भने–संकलन भएको कवाडी पनि किन्ने ग्राहक आएका छैनन् । गोदाममा जम्मा भएको सबै सामान बेच्न पाए लगानी चाहीँ उठ्छ होला ।’ सरदरमा बार्षिक ४ करोड हाराहारीको कारोबार ल्याण्डफिल साईटबाट मात्रै हुन्छ ।