फेवाताल स्थित तालबाराहीको गुठी जग्गा हत्याउने चलखेल !, ३९ बर्षको लागि निजी कम्पनीलाई दिइने

पोखरा, साउन ३१ ।
पोखराको फेवाताल स्थित तालबारी मन्दिरको नाममा रहेको जग्गा अधिकारको दुरुपयोग गरी गुठी संस्थानले निजी कम्पनीलाई सुम्पिन लागेको छ । तालको बीचमा रहेको तालबाराही मन्दिरको पुजाआजा लामो समयसम्म चलाउनका लागि तत्कालीन कास्की राज्यले तीनवटा गुठीको ब्यवस्था गरिदिएको थियो । अक्षता गुठी, पाडा गुठी र समिधा गुठीमध्ये समिधा गुठीको नाममा रहेको ५५ रोपनी जग्गा गुठी संस्थाले निजी कम्पनीलाई भाडामा दिने निर्णय गरेको छ । असार १० र १२ गतेको गोरखापत्रमा सूचना प्रकासन गरी संस्थानले ३९ बर्षका लागि भाडामा लगाउन लागेको हो ।

स्थानीयले चाहीँ गुठीको जग्गा निजी कम्पनीलाई दिन नहुने बताएका छन् । पर्यावरणीय दृष्टीले पनि यो जग्गा निकै संबेदनशील रहेको भन्दै उनीहरुले सामाजिक सेवाका क्षेत्रमा जग्गाको उपयोग हुनुपर्नेमा जोड दिए । जग्गाको संरक्षण र मन्दिरको विकास तथा सञ्चालनका लागि तालबाराही गुठी ब्यवस्थापन समिति छ । समितिले नै गुठीको जग्गामा आश्रम सञ्चालन गर्ने योजना बनाएपनि संस्थानले जग्गा दिएन । बरु मानव सेवामा भन्दा ब्यवसायिक प्रयोजनमा जग्गा प्रयोग गर्ने तयाी भयो । तर जग्गा लिजमा दिने बिषयमा समितिसँग कुनै छलफल नभएको समितिका अध्यक्ष हिक्मतजंग कुवँर बताउँछन् ।

‘हामीसँग छलफल नै भएन । हामीले त बरु यसलाई बृद्धाश्रम बनाउने परिकल्पना गरिरहेका थियौं । सोही अनुसार वडा हुँदै महानगर र मालपोतको समेत सिफारिस गुठी संस्थानलाई बुझाएका छौं,’ उनले भने, ‘हामी निर्णय कुरेर बसिरहेका छौं । संस्थानले त जग्गा नै लिजमा दिने सूचना पठायो । यो निर्णय हामीलाई मान्य छैन ।’ समितिले मंगलबार निजी कम्पनीलाई गुठीको जग्गा नदिन दवावमुलक सार्वजनिक भेला गरेको थियो । भेलाले पनि मानवीय हितमा जमिन प्रयोग गर्नुपर्ने सुझाव दिएको छ ।

तर गुठी संस्थानले चाहीँ अतिक्रमणबाट रोक्नका लागि लिजमा दिने तयारी गरिएको दावी गरेको छ । गुठीको सञ्चालन र ब्यवस्थापनकै लागि जग्गा लिजमा दिन लागेको संस्थानका प्रशासक नारायण चौधरी बताउँछन् । ‘अरु जग्गा गुठियारहरुले खाईसके । बचेको यही हो । यो पनि केही बर्षमा सकिन्छ,’ उनले भने, ‘अतिक्रमण हुनबाट जोगाउनकै लागि लिजमा दिन खोजिएको हो । यसको कुनै गलत मनसाय छैन ।’ देशभरी नै गुठीका जग्गा ब्यवसायिक प्रयोजनका लागि लिजमा दिएर आम्दानी गरिरहेको भन्दै उनले पोखराको जग्गाबाट झनै धेरै आम्दानी गर्न सकिने बताए ।

श्रोतका अनुसार एउटा कम्पनीले जग्गा हत्याएर रिसोर्ट चलाउने तयारी गरिरहेको छ । गुठीको नाममा रहेको १ सय १५ रोपनी जग्गामध्ये आधाआधि जग्गा ब्यक्तिले भोगचलन गर्न थालेका छन् । पाणा गुठीमा रहेको १९ रोपनी मध्ये १७ रोपनी जग्गा पाणाहरुले २०६४ सालमा नैै रैकर सावित गराएर आफ््नो नाममा दर्ता गरिसकेका छन् । यसका लागि उनीहरुले सरकारले तोकेको ३० प्रतिशत रकम संस्थानलाई बुझाएका छन् । अरु जग्गा पनि विभिन्न नाममा अतिक्रमण भएको छ । त्यसलाई गुठीको नाममा फर्काउनुको सट््टा भएको जमिन पनि निजी कम्पनीलाई दिँदा मन्दिरको भविष्य नै धरापमा पर्न सक्ने धेरैको अड्कल छ । उक्त जग्गा तालवाराही गुठी व्यवस्थापन समितिमार्फत संरक्षण हुँदै आएको छ । स्वामित्व भने गुठी संस्थानमा छ । भाडामा दिने निर्णय फिर्ता नलिए जस्तोसुकै संघर्ष गर्न पनि पछि नपर्ने स्थानीयको चेतावनी छ ।

पोखरा महानगरपालिकाले संस्थान र प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेर यो निर्णय फिर्ता लिन आग्रह गरेको छ भने परम्परा, संस्कार र संस्कृतिमाथी हस्तक्षेप गर्न नहुने भन्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत यो काम रोक्न पत्र पठाएको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले पनि गुठी संस्थान भुमाफियाको जालोमा फसेको भन्दै निजी कम्पनीलाई जमिन दिन नहुने बताए । ‘स्थानीय सरकारको क्षेत्रभित्र पर्ने जग्गा कसरी प्रयोग गर्न लागिएको हो, कुनै जानकारी छैन । उसैको जग्गा भएपनि समन्वय त गर्नुपर्छ नि । सिधै माथीबाट निर्णय गर्दैमा कार्यान्वयन हुन्छ र ?,’ जिसी भन्छन्, ‘लिजमा दिनुपर्ने कारण सहित हामीलाई कन्भिन्स गराउन सके ठीकै छ । अन्यथा मनपरी गर्न पाईँदैन । महानगरले यसलाई रोक्छ ।’

२०७४ सालमा सर्वोच्च अदालतले यसलाई राजगुठीको रुपमा फैसला गरिदिएको छ । यही जग्गामा २०६७ सालमा स्थानीयले बृद्धाश्रम बनाउने योजना सहित ५ हजार १ सय जनाको हस्ताक्षर गुठी संस्थानलाई बुझाएका थिए । तर संस्थानले समितिलाई यसबाट हटाएर निजी कम्पनी भित्र्याउन लागेको हो । जुनसुकै हालतमा पनि यो निर्णय खारेज गर्नुपर्ने उनीहरुको माग छ । वडाध्यक्ष जगतबहादुर पहारी पनि संस्थानले गलत बाटोबाट जग्गा चलाउन खोजेको बताउँछन् । उनले स्थानीयसँग भेला गरेर ब्यवस्थापन समितिको समन्वयमा काम गर्नुपर्ने भन्दै केन्द्रबाट लादेको निर्णय कार्यान्वयन नहुने बताए ।