फेवाताल जोगाउन खोज्दा बस्तीलाई जोखिम

पोखरा, माघ २८ ।
पोखरा महानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालको सिरानमा सिल्ट्रेसन ड्याम निर्माणको काम धमाधम भैरहेको छ । केही ड्यामको काम लगभग सकिएको छ भने केही भर्खर सुरु भएका छन् । बर्खामा आउने बाढी र पहिरोका कारण खहरे खोलाबाट बग्ने लेदो र ढुंगाले ताल निरन्तर पुरिएपछि त्यसको बचाउका लागि ड्याम निर्माण गरिएको हो । २०७२ सालमा आएको बाढीले बगाएको लेदोका कारण फेवातालको गहिराई करिब २ मिटर घटेको अनुमान विज्ञहरुको छ । यद्यपी यसको यथेष्ट तथ्यांक भने आएको छैन । बाढीले खोला आसपासमा ५ मिटर जमिन पुरेको छ । ७ वटा पुल एकैपटक बगाएको थियो । बस्ती पनि जलमग्न भएको थियो । ढुंगा र काठले फेवाताल पु¥यो । ११ जना त्यही बाढी र पहिरोमा परेर मृत्यु भएको थियो । स्थानीय त्यही घटना दोहोरिन सक्ने त्रासमा छन् ।

अहिले बनिरहेको ड्याम निर्माणको काम गुणस्तरीय नभएको भन्दै उनीहरुको सरकार र ठेकेदारको खवरदारी गरेका छन् । ड्याम नै गुणस्तरीय नभएका कारण आसपासको बस्तीका नागरिक निकै तर्सिएका छन् । ‘बस्तीभन्दा माथी ड्याम छ । भर्खर बनेको ड्याम सानो ढुंगाले हान्दा पनि चपरी निस्किन्छ । बर्खाको भेलले यो थेग्नै सक्दैन,’ स्थानीय प्रेमराज भण्डारीले भने, ‘यो ड्याम फुटेर बस्तीमा पस्यो भने झन विकराल अवस्था सिर्जना हुन्छ । अहिले नै मजबुती भएन भने समस्या आउँछ ।’ स्थानीय अगुवाहरुले ठेकेदारले स्टिमेट र डिजाईन समेत नदेखाई अपारदर्शी काम गरेको आरोप लगाएका छन् । ‘स्टिमेट माग्दा पनि दिँदैन । काम पनि मनपरी गरेको छ । कस्तो ड्याम बनाउन लागेको हो त्यसको डिजाईन पनि छैन,’ उनी भन्छन्, ‘फेवाताललाई रोग नलागोस्, माटोले नपुरोस भन्नेमा हामी सचेत छौं । तर यति कमजोर संरचना बनाउँदा झन् ठूलो क्षति पुग्छ ।’

काममा गुणस्तर नभएको भन्दै उनीहरुले पटक पटक काममा नै अवरोध गरेका छन् । अहिले पनि नसच्याए काम बन्द गरिदिने चेतावनी दिएका छन् । ‘पहिले पनि रोक्ने प्रयास गरेको हो । ड्यामबाट ह्युम पाईप निकालेर सिञ्चाईको निकास दिने र काममा गुणस्तर कायम गर्ने सहमति पछि केही भनेनौं । हामी छउञ्जेल राम्रै गर्छन् । पछि उस्तै हुन्छ,’ उपभोक्ता समितिका अध्यक्ष रामजीप्रसाद भण्डारीले भने, ‘बेलैमा महानगर र प्रदेश सरकारले चासो लिएन भने काम गर्नै दिँदैनौं ।’

वडा नम्बर २३ का वडा सदस्य तथा स्थानीय भरत भण्डारीले छिटो सक्ने नाममा प्राविधिक मात्रा समेत नपुगेको गुनासो गरेका छन् । ‘खोलाको बालुवा बकेटले उठाएर हालेको छ । १ ट्याक्टर बालुवामा १ बोरा सिमेण्ट हाल्छन् । त्यसको निगरानी कसले गर्ने ? यसो नगर भन्दा कामदार मान्दैनन् । महानगरलाई गुहार्दा कुरै सुन्दैन,’ उनले भने, ‘घर बनाउँदा प्रयोग गर्ने चुनाले ड्याम पोतेर बलियो हुँदैन । यही अवस्थामा अव काम अघि बढ्न दिदैनौं ।’ कार्किको तहरा नौविसे, ठूलाखेत र धारापानीका ६ सय भन्दा बढी घरधुरी जोखिममा पर्ने उनको भनाई छ । ‘कुनैपनि बेला बाँध फुट्न सक्छ । बस्तीमा विपत आउन सक्छ । यसले बस्तीलाई मात्रै होईन फेवाताललाई पनि समस्या पर्छ,’ उनी अघि भन्छन्, ‘महानगरमा पनि धेरै पटक गुहार मागिसक्यौं । बाँध फुटेर नोक्सान भए ठेकेदोरले जिम्मा त लिँदैन नि । सरकारले जनताको आँखामा छारो हाल्ने काम गरेको छ ।’

ठेकेदारको तर्फबाट साइट इन्चार्ज कमलराज वलीले चाहीँ गुणस्तरमा कुनै कमजोरी नभएको दावी गर्छन् । ‘महानगरपालिकाले पनि २ जना सुपरभाइजर खटाएको छ । स्थानीयको छुट्टैै निगरानी टोली छ । यस्तो काम कसरी गुणस्तरहीन हुन्छ ? ३ महिनासम्म काम गरिसक्यौं । पहिले नै क्वालिटी भएन भनेर रोक्नुपर्ने हो । अहिले सकिने बेलामा रोकेर हुँदैन,’ उनले भने, ‘हाम्रो मनमौजीले काम गर्ने होईन । महानगरले गरेको निर्देशन अनुसार गरेको हो । हामी काम गर्न आएको मजदुर हो, महानगरको अण्डरमा काम गरेका छौं । केही समस्या भए महानगरसँग राख्नुपर्छ । काम रोकेर समस्या समाधान हुँदैन ।’ खासगरी अँधेरी र हर्पन खोलामा निर्माणाधीन ड्यामको काममा गुणस्तर देखिँदैन ।

बेतेईनी खोलाको ड्याम बनाउने जिम्मा श्री गीता जय नेपाल ईश्वर जेभीले पाएको छ भने लौरुक, हर्पन र अँधेरी खोलाको ठेक्का खड्का कृष्ण पीके जेभीले काम गरिरहेको छ । बेतेईनी खोलाको लागि ५ करोड ४६ लाख लागत लाग्नेछ भने लौरुकमा ५ करोड ७५ लाख, हर्पनका लागि ७ करोड ८८ लाखमा सम्झौता भएको छ । सबैभन्दा ठूलो प्याकेज अँधेरीखोलामा छ । ९ करोड ६ लाख रुपैयाँ यही खोलामा मात्रै खर्च हुनेछ । सम्झौता अनुसार २०७७ पुस मसान्तसम्म काम सकेर महानगरलाई हस्तान्तरण गर्नुपर्छ । ड्याम बनाउन लाग्ने पूरा लागतको ५० प्रतिशत गण्डकी प्रदेश सरकारले ब्यहोर्ने छ भने बाँकी ५० प्रतिशत महानगरको लगानी हुनेछ ।

मानवीय र प्राकृतिक अतिक्रमणले फेवाताल दिनहुँ साँघुरिँदै गएपछि सर्बोच्च अदालतले ३ वटै सरकारको जिम्मेवारी सहित फैसला सुनाएको थियो । फैसला कार्यान्वयनको थालनी ड्यामबाट गर्न लागिएको पोखरा महानगरले जनाएको छ । २०१८ सालमा १० वर्गकिलोमिटरमा फैलिएको फेवाताल २०६४ मा आईपुग्दा ४ दशमलव २० वर्ग्किलोमिटरमा खुम्चिएको तथ्यांक छ । केन्द्रिय नापी टोलीले नाप्दा २२ हजार रोपनी क्षेत्रफलको फेवाताल साँघुरिएर ९ हजार ९ सय ५५ रोपनीमा झरेको थियो । त्यसयता कुनै आधिकारिक तथ्याकं छैन । बर्षेनी फेवामा १ लाख ४२ हजार टन ढुंगा, गिटी, बालुवा मिसिने गरेको अध्ययनको आँकडा छ । बिज्ञहरुले १ सय बर्ष पनि फेवाताललाई बचाउन नसकिने आँकडा निकालेका छन् ।

पोेखरा महानगरका मेयर मानबहादुर जिसीले तत्काल इन्जिनियर खटाएर गुणस्तर मापन गर्ने बताए । ‘स्टिमेट डिजाईन अनुसार काम भएको रहेनछ भने बनेकै संरचना भएपनि भत्काएर फेरि बनाउन लगाउँछौं,’ उनले भने, ‘तोकिएको मात्रा र परिमाण अनुसार काम गर्नुपर्छ । तत्काल अनुगमन गर्छु ।’ इन्जिनियर खेम तिमिल्सीनाले पनि फिल्ड अनुगमन गर्ने र गुणस्तर नापजाँच गर्ने प्रतिबद्धता जनाएका छन् । आदर्श समाज राष्ट्रिय दैनिकमा खवर छापिएको छ ।