फेवातालदेखि सराङकोट केबलकारमा सरर, डेढबर्षमै बनिसक्ने

पोखरा, मंसिर ७ ।
फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा पाएको चितवन कोइ कम्पनीका राजेशबाबु श्रेष्ठले निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । अब डेढ वर्ष्भित्र सबै निर्माण सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको अध्यक्ष कालु गुरुङले जानकारी दिए ।
अहिले फेवातालदेखि गाडीमा आधादेखि पौने घन्टा लगाएर सूर्योदय र सूर्यास्तको स्वाद लिन सयौं पर्यटक सराङकोट पुग्ने गर्छन् । केबलकार निर्माण सम्पन्न भएपछि भने फेवातालको काखदेखि रमाउँदै ७ मिनेटमै सराङकोट पुग्न सकिने अध्यक्ष गुरुङले बताए । फेवातालको उत्तरी किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माण गर्न गएको मंसिर २९ गते शिलान्यास भएको थियो ।
‘केबलकार निर्माणको सम्पूर्ण डिजाइन सकिइसकेको छ । जग्गा खरिद, पहुँच मार्ग निर्माणदेखि सम्पूर्ण नीतिगत तथा स्थानीय सम्झौता सकिएर भौतिक निर्माणको काम सुरु भएको छ,’ अध्यक्ष गुरुङले भने, ‘प्राविधिक जाँच, मेसिनरी पाट्र्सको स्विकृति तथा सबै खरिद भइसकेको छ । डेढ वर्ष्भित्र फेवातालदेखि सराङकोट केबलकार चढेर पुग्न सकिने छ ।’
डिजाइन तथा प्राविधिक जाँच, मेसिनरी सामानको स्विकृति र खरिद प्रक्रियामा केही ढिलाइ भएकाले भौतिक पूर्वाधार निर्माण सुरु हुन ६ महिनाजति ढिलाइ भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
केबलकार निर्माण सम्पन्न गर्न १ अर्ब रुपैयाँबाट खर्च बढेर १ अर्ब १० करोड पुगेको छ । केबलकार निर्माणमा स्थानीयको १० प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र बाँकी अन्नपूर्ण केबलकार प्रालिको लगानी रहने छ ।
२ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १३ वटा टावर रहने रोपवे नेपालका अध्यक्ष एवं इन्जिनियर गुणराज ढकालले जानकारी दिए । उनका अुनसार १७ वटा डब्बाबाट सेवा सञ्चालन गरिने र यात्रुको संख्या बढ्दै गएमा ३५ वटासम्म डब्बा केबलमा राख्न सकिन्छ । ‘एउटा डब्बामा ८ जनाले यात्रा गर्न सक्छन्’ ढकालले भने, ‘१७ डब्बाबाट प्रतिघण्टा ५ सय जनालाई सेवा दिन सक्छ ।’
केबलमा ३५ वटा डब्बा राख्ने र १ हजार जनालाई सराङकोट र्पुयाउने योजना प्रालिको छ । सराङकोट र सेदीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने वन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना भइसकेको छ । सरकारले ४० वर्षका लागि लिजमा उक्त जग्गा उपभोग गर्न स्वीकृति दिएको छ ।
पछि पब्लिकलाई सेयर सुविधा दिने योजना कम्पनीले ल्याएको छ । ‘हामीले कम्पनीको शेयर जनतालाई दिने सोच बनाएका छौं ।,’ प्रालि अध्यक्ष गुरुङले भने, ‘५१ प्रतिशत संस्थापक सदस्यलाई र ४९ प्रतिशत जनतालाई शेयर दिन सकिन्छ, यसबारे हामीले गृहकार्य गरिरहेका छौं ।’ केबलकार निर्माणको जिम्मा चितवन कोई समूहले पाएको छ । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्ऽागिरी केबलकारभन्दा यसमा नयाँ प्रविधि प्रयोग गरिने बताइएको छ ।
पत्रकार अमृत सुवेदीले यो खवर लेखेका हुन् ।