फूलसँगै फूलेको परिवार
प्रकाश ढकाल
पोखरा, असोज २९ ।
फूल बेचेर पैसा कमाउने ? त्यो पनि नेपालमा । फूलको संस्कार सुरु भएकै कति भयो र ? नेपालीहरुले तिहार बाहेक फूल चलाउने चलन अझैपनि धेरै ठाउँमा छैन । कसैले सौखले करेसाबारी सजाउन रोपेपनि फूलको ब्यापार गर्ने चलन भर्खरै चलेको हो । केही बर्षअघि सम्म फूल बेचेर पैसा कमाइन्छ भन्ने कुरा पनि अनौठै लाग्थ्यो । पोखराको विरौटामा फूलको नर्सरी थालेका बसन्त भण्डारी पत्रिकामा फूल ब्यापारीको समाचार पढ्दा दंग पर्थे । ‘कतैकतै फूल बेचेर पैसा कमाए भन्दा अचम्मै लाग्थ्यो । हाम्रातिर फूल रोप्ने चलन नै थिएन, उनी भन्छन्–पत्रिकाकै समाचार पढेर मण्डिबाट फूल किनेर तिहारमा बेच्न थालें । विस्तारै आँफै खेती गर्नुपर्छ भन्ने लाग्यो, अहिले दुईवटा नर्सरी नै छ ।’
रासन पसल चलाईरहेका उनी समाचार पढेरै फूल ब्यापारी भएको बताउँछन् । निर्मलपोखरीबाट १७ बर्षअघि पोखरा झरेका भण्डारीले ७ बर्षअघि देखि बिरौटा र ड्यामसाइडको ६ रोपनी जग्गामा फूल खेती गरेका छन् । रासन पसल छोडेर अहिले नर्सरीको आडैमा फलफूलको दोकान पनि थापेका छन् । साढे २ लाख लगानी गरेको नर्सरीबाट फूल बेचेरै उनको परिवारले बर्षमै ३ लाख भन्दा बढी कमाउँछ । ‘फूलको थुंगा हेरी कमाई हुन्छ । साना थुंगा भए ४ देखि ५ रुपैयाँमा बेच्छु, उनले थपे–अलि ठूला भए १० रुपैयाँसम्म पर्छ ।’ उनको नर्सरीमा सयपत्रीका तीनवटा जात छन् । ‘तिहारमा बढी ब्यापार भएपनि बाह्रै महिना नर्सरीमा सयपत्रीका फूल हुन्छन्, उनले थपे–रेगुलर ग्राहक मात्रै डेढसय जना छन् । उनीहरु बेलाबेला माला लिन आईरहन्छन् ।’ तिहारमा मात्रै झण्डै ४ लाखको फूल विक्रि हुने भण्डारीले जानकारी दिए । फूल ब्यापारले नै भण्डारीले ४ जनाको परिवार पालेका छन् । यसबाहेक सामान्य फलफूल पसल पनि छ । तर उनको मुख्य ब्यापार फूल हो ।
नर्सरीको रेखदेख उनकी श्रीमति मञ्जिता भण्डारीले गर्छिन् । उनले ३ बर्षअघि गोदावरीमा रहेको कृषि अनुसन्धान केन्द्रबाट ९ दिनको फूलखेति तालिम समेत लिएकी थिईन् । ‘टिप्ने बेलासम्म फूलमा धेरै दुख गर्नुपर्छ । असिना पानीबाट जोगाउनै मुश्किल छ, उनले भनिन्–कहिलेकाहीँ त डढुवाले सताउँछ । साता दिन नवित्दै औषधी हालि रहनुपर्छ ।’ घामपानीबाट जोगाउन जिल्ला कृषि विकास कार्यालयले ८ वटा टनेल अनुदानमा दिएको छ । तर टनेल सानो भएकाले सबै विरुवा टनेलमा अटाउँदैन । उनका अनुसार चैतमा विउ ल्याएर जमाएपछि असारमा रोप्ने बेला हुन्छ । बर्षेनी विरुवा फेर्ने गरेको उनले सुनाईन् । ‘एकपल्ट लाएको विरुवाले एक बर्ष उत्पादन दिन्छ । असार लागेपछि नयाँ विरुवा रोप्ने गरेका छौं, उनी भन्छिन्–विउको लागत नै महंगो छ । त्यैपनि भनेको बेला पाईँदैन ।’ चैतमा विउ किन्न मंसिरमै कन्ट्याक्टरलाई पैसा बुझाउनुपर्ने उनको भनाई छ ।
पछिल्लो समय फूलको माग अत्याधिक बढेपनि भारतीय फूलका कारण ब्यापारमा समस्या हुन थालेको भण्डारी दम्पतीको अनुभव छ । ‘फूलको ब्यापार निकै राम्रो छ । त्यो पनि पोखरामा दैनिक खपत नै बढी हुन्छ, उनीहरु भन्छन्–तर भारतीय फूल ओइरियो भने लगानी कै आस मार्नुपर्छ । कहिलेकाहीँ त लगानी पनि उठ्दैन ।’ पोखरामा भारतका बनारस, कलकत्ता, नासिक लगाएतका ठाउँबाट ब्यापारीले फूल भित्र्याउँछन् । भारतीय फूलको तुलनामा नेपाली फूलको बजारभाउ दोब्बर बढी छ । ‘१० रुपैयाँमा फूलको थुंगा बेच्दा पनि कहिलेकाहीं लागत उठ्दैन । त्यही फूल भारतबाट ल्याएर ब्यापारीले ३÷४ रुपैयाँमै बेचिदिन्छन्, पोखराका पूराना फूल ब्यापारी दया कुमार द्धा भन्छन्–यसले नेपाली किसानलाई मर्का पर्छ ।’ सरकारले नै भारतीय फूलको आयात घटाएर नेपाली किसानलाई प्रोत्साहन गर्नुपर्ने उनी बताउँछन् ।