‘फरार अभियुक्त’ राज्यमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश

जनकपुर, साउन १८ ।
उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ । उच्च अदालतका प्रमुख रजिष्टार मानबहादुर कार्कीले फरार सबै प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरी र कार्यालयका प्रमुखलाई फैसलासहित पक्राउ गर्न पत्राचार गरिएको बताए ।

पत्र बिहीबार नै हुलाकमार्फत पठाइएको उनले जानकारी दिए । मधेस आन्दोलनका क्रममा मारिएका सशस्त्र प्रहरीका असई थमन विकको हत्या घटनाका फरार प्रतिवादी अभिराम शर्मा हाल प्रदेश २ को सामाजिक विकास राज्यमन्त्री छन् ।

फरार प्रतिवादीमध्ये शंकर शाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर छन् भने कौशलकुमार यादव प्रदेश सभा सदस्य छन् । प्रहरीका अनुसार ती प्रतिवादीहरू लगायत २८ जना हालसम्म फरार छन् । महोत्तरीमा ०७२ भदौ २५ गते आन्दोलनकारीको कुटपिटबाट घाइते भएका असई थमन विकलाई उपचारको लागि जनकपुरतर्फ लैजाँदै गर्दा एम्बुलेन्सबाट थुतेर कुटी हत्या भएको थियो ।

घटनाका फरार प्रतिवादी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले आफूले अदालतको फैसलालाई सम्मान गर्ने बताएका छन् । यद्यपी उनले यो राजनीतिक प्रकृतिको मुद्दा भएको र सरकारसँग यस विषयमा सहमति भइसकेको पनि बताए ।