फराकीलो होला त पोखराको पालिखेचोक ? (यस्तो छ महानगरको तयारी)

पोखरा, असोज ३० ।
सडक फराकिलो पार्न बाटो र चौबाटोका आइल्यान्ड हटाउन अभियान थालेको पोखरा महानगपालिकाले पालिखे चोक फराकिलो पार्न पनि कोसिस थालेको छ । पालिखे चोककोसडक बीच निजी जमिनमा ५ सहित ६ घर छन् ।सडकफराकिला बनाउने र मापदण्ड कायम राख्ने महानगरका मेयर मानबहादुर जिसीले बताउँदै पनि आएका छन् । जति नै जोखिम लिन परेपनि पोखराको विकास निर्माणमा सम्झौता नगर्ने बताएका मेयर जिसीले सडक र चोकलाई फराकिलो बनाउन मातहतका जनप्रतिनिधिलाई संयोजक तोकेर काम अगाडि बढाएका छन् ।
पोखरा महानगरपालिका ४का वडाध्यक्ष शंकर बास्तोलालाई संयोजक तोकेर सडक चौडा पार्ने जिम्मेवारी मेयर जिसीले दिएका छन् । उनलाई वरिष्ठ इन्जिनियर शारदामोहन काफ्ले, महेन्द्रबहादुर गोदार र इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले आवश्यक सहयोग गर्ने जिम्मा छ । घर भत्काउन प्रचलित अनुरुप मुआब्जा दिन महानगर तयार रहेको संयोजक बास्तोलाले जानकारी दिए । उनका अनुसार पालिखे चोकका अलावा हरिचोक नजिक एउटा मापदण्ड विपरीत बनाइएको घर समेत सडक मापदण्ड कायम गर्न भत्काउनुपर्ने छ ।
पालिखे चोकमा वडा नम्बर ३ र ९ मा चारतिरको सडकबीच पर्ने गरी मिश्री उदास, दूधमान उदास र वसन्त उदासको नाममा रहेको ढुंगामाटोको घर, प्रदीपशंकर पालिखेको नाममा रहेको २ तले, किशोरादेवी श्रेष्ठ र कृष्णमान श्रेष्ठको नाममा रहेको निजी जमिनमा कच्ची र सार्वजनिक जग्गामा बनाइएको एउटासहित ६ घर छन् । तीमध्ये केही जीर्णसमेत छन् भने पुन निर्माणका लागि मापदण्डका कारण नक्सा पास नहुने महानगर स्रोतले जानकारी दियो ।
सडक मापदण्ड अनुरुप चौडा गर्नेकामको सुरुवात भइरहेको वडाध्यक्ष बास्तोला बताउँछन् । उनका अनुसार अहिले विशेषगरी केही चौतारा, सार्वजनिक जमिन हडपेर अर्थात मापदण्ड मिचेर बनाएका संरचना र मापदण्ड भित्र पर्ने तर पुर्खौली लालपुर्जा भएकाहरु पहिचान गर्ने काम भइरहेको छ ।
लेकसाइडको जरेबर लगायत चौतारा भत्काउनुपर्ने भएपछि त्यहाँ शुक्रबार डोजर लगाइएको छ । पालिखे चोकका विषयमा जिज्ञासा राख्दा बास्तोलाले त्यस विषयमा सरोकारवालासँग झन्डै दर्जनपटक कुरा भइसकेको जानकारी दिए । ‘कुरा अझै हुँदैछ, म जिम्मेवारी पूरा गरेरै छाड्छु,’ उनले भने ।
पालिखे चोकमा जग्गाधनीमध्येकी एक किशोरादेवी श्रेष्ठका छोरा इन्दुकुमार श्रेष्ठले आफ्नो आमाको नाममा रहेको उक्त घर जग्गामा आफूहरुको विगत जोडिएको बताए । ‘आमा विगत सम्झनुहुन्छ, उहाँले त्यहँीको आम्दानी खाइरहनुभएको छ, भत्काएर पैसा बुझ्नुभन्दा सट्टामा जग्गा पाए हुन्थ्यो भन्ने हो,’ उनले भने ।
मूल्यको कुरा नगर्न आग्रह गरेका उनले आफूहरु विकास विरोधी नभएको र नहुने उल्लेख गरे । ‘भत्काउने ट्राफिकलाई सहज बनाउन हो, अध्ययन होस्, ट्राफिकलाई सहज हुन्छ भने हामी बाधक हुँदैनौं ।’ उनले हल्ला गर्ने तर ठोस पहल नहुने गरेको विगत समेत सम्झिए । अहिले भने मेयर मानबहादुर जिसीसँग नै यस विषयमा कुरा भएको उनले सुनाए ।
पोखरा उपत्यका नगर विकास समितिमा २ पटकसम्म अध्यक्ष भइसकेका पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक पालिखेले महानगरले चाहे मापदण्ड अनुरुप चोक चौडा गर्न सक्ने प्रतिक्रिया दिए । पालिखे परिवार बाटो चौडा गर्न किन बाधक भन्ने जिज्ञासामा उनले आफूहरु बाधक नभएको बताए । उनले यसमा आफूले सक्दो सहयोग नै गर्ने बताए ।
आफ्नो कार्यकालमा चाहेर पनि चोक चौडा नगरेको उनले खुलाए । आफ्नो कार्यकालमा फेवातालको फैलावट थप १६ रोपनी बढाएको उल्लेख गर्दै उनलेत्यही तालको माटो बेचेर खाएको आरोप खेप्नु परेको सुनाए । ‘फेवातालको माटो मैले रत्नमन्दिरमा फालिदिएको हो, त्यहाँ फाल्दा समेत माटो बेचेर खायो भने,’उनले भने, ‘पालिखे चोकमा काम गर्दा आफ्नो घर अगाडि मोहडा फराकिलो पारेको आरोप आउँथ्यो, त्यसैले म त्यो आरोप खेप्न तयार नभएको सत्य हो ।’ यस पहिला आफूले मुअब्जा दिएर सडक चौडा गर्ने प्रयास भने गरेको उनको भनाइ छ ।
उनले त्यहाँका घरको मुआब्जा दिएर न्युरोडमा जग्गाउपलब्ध गराइए समस्या समाधान हुने बताए । न्युरोडमा सट्टामा जग्गा दिने वा उचित मुआब्जा दिनुपर्ने उनको तर्क छ । ‘म नै अध्यक्ष हुँदा नगरविकासको नाममा राखिएको ३१ मिटर न्युरोडमाजग्गा छ,त्यही जग्गामा ५÷५ मिटरका दरले दिए समस्या समाधान हुन्छ,’ उनले भने, ‘होइन भने उचित मुआब्जा दिनुपर्छ । उचित मुआब्जा कति भन्ने बारे उनले खुलाएनन् ।
गोविन्द सुवेदीले समाधान दैनिकका लागि लेखेका हुन् ।