प्रहरी हिरासतभित्रै सार्वजनिक मुद्दाका अभियुक्त मृत फेला

दमक, पुस २३ गते । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् ।

गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यादव १८ दिनदेखि सार्वजनिक मुद्दामा अनुसन्धानकै क्रममा हिरासतमा थिए ।

उनीसँगै हिरासतमा अन्य दुई कैदीसमेत रहेको बताइएको छ । इप्रका गौरीगञ्जका प्रहरी निरीक्षक नारायण गौतमले यादवले आत्महत्या गरेको बताए । ( रासस )