प्रहरीसँगै घुस खाने प्रहरीलाई प्रहरीले नै पक्रेपछि …

काठमाण्डौं, माघ १९ ।
गत साता भक्तपुरको दधिकोट नजिकै सडक किनारमा स्कुटर रोकेर एक प्रहरी जवान उभिइरहेका थिए । यत्तिकैमा एउटा टिप्पर आयो । साँघुरो सडकमा गाडी पास हुन गाह्रो भएपछि चालकले भने, ‘किचिदिऊँ तेरो स्कुटर ?’ टिप्पर चालकको शब्दले प्रहरी जवान झोक्किए । दुईबीच भनाभन भयो । रिसको आवेगमा ती प्रहरी जवानले टिप्परको ‘साइड मिरर’ फुटाइदिए । दुईबीच हात हालाहाल नै भयो । झगडापछि टिप्पर चालक उजुरी लिएर नजिकैको महानगरीय प्रहरी प्रभाग दधिकोट पुगे । आफ्नो २ लाख रुपैयाँ बराबरको क्षति भएको उनको दाबी थियो ।
प्रहरीले दुई पक्षबीच छलफल गरायो । ८० हजार रुपैयाँमा सहमति भयो । छलफलमा प्रभागका सईले गाडी तोडफोड गर्नेलाई नै अप्रत्यक्ष रुपमा सहयोग गर्दै सहमति गराएका थिए । छलफल गराउनेमा प्रभागका सिपाही उमेशकुमार थापा पनि थिए । आफूले पक्ष लिएर २ लाख तिर्नुपर्नेमा ८० हजारमै मिलाइदिएको भन्दै उनले त्यसवापत आफूलाई सहयोग गर्नुपर्ने भन्दै एमटी शाखामा कार्यरत सिपाहीसँग पैसा माग्न थाले । बारम्बार फोन गरेर पैसा माग्न थालेपछि उनी हैरान भएका थिए । पैसा माग्दै तनाव नै दिन थालेपछि उनले बिहीबार जवान थापालाई पैसा लिन बोलाए । पैसा दिनुअघि उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सूचना दिएका थिए । सोहीअनुसार पैसा लिएलगत्तै अख्तियारबाट डिएसपीको कमान्डका खटिएको प्रहरी टोलीले उनलाई भक्तपुरको राधेराधे नजिकैबाट पक्राउ र्गयो । प्रहरीसँगै घुस लिने प्रहरीलाई प्रहरीले नै पक्राउ गरेको सायद यो पहिलो घटना हो ।
‘प्रहरीलाई नै त्यसरी धम्क्याएर घुस माग्ने प्रहरीले अरुलाई कति दुःख दिएका होलान्’, अख्तियारका एक अधिकारी भन्छन्, ‘यो सामान्य घटना हो, तर यसले प्रहरीभित्र रहेको भ्रष्टाचारको प्रस्ट तस्बिर देखाउँछ ।’ जवान थापा ४ वर्षदेखि सो प्रभागमा कार्यरत थिए । सो घटनामा प्रभागमा सईमाथि पनि प्रहरीले आन्तरिक छानबिन थालेको छ ।