प्रहरीलाई जनताको सुझाव–ट्राफिक व्यवस्थापन चुस्त होस्

पोखरा, कार्तिक १८ ।
कास्कीका जनताले ट्राफिक ब्यवस्थापन चुस्त हुन नसकेको भन्दै प्रभावकारी ब्यवस्थापनका लागि सुझाव दिएका छन् । कास्की प्रहरीले पोखरामा आयोजना गरेको नागरिक सुनुवाई कार्यक्रममा उनीहरुले पहिले भन्दा केही सुधारको संकेत देखिएपनि अझै पोखराको आवश्यक्ता अनुसार हुन नसकेको गुनासो गरे ।
उनीहरुले मुस्कानसहितको सेवा दिने घोषणा गरेको कास्कीका प्रहरीहरुले शिष्ट भाषा प्रयोग नगरेको, प्रहरीबाटै निर्दोष नागरिक पीडित हुनुपरेको, पार्किङ व्यवस्थापन उत्कृष्ट हुन नसकेको लगाएत गुनासो गरेका थिए ।
गुनासोको सुनुवाई गर्दै कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले प्रहरी कानून कार्यान्वयनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कास्कीका प्रमुख एसपी अशोक सिंहले जनताको सुझाव लिनकै लागि कार्यक्रम गरेको भन्दै आगामी दिनमा प्राप्त सुझाव कार्यान्वयन गर्ने बताए ।
ट्राफिक ब्यवस्थापन र प्रहरी सेवा चुस्त बनाउन आँफु मातहतका प्रहरीलाई तत्काल निर्देशन दिने उनको प्रतिबद्धता छ ।
‘प्रहरीको काम नै जनताको शान्ति सुरक्षा र समाजमा अमनचयन कायम गराउने हो । हामी त्यसतर्फ प्रतिबद्ध छौं, उनले भने–केही कमजोरी भए अझै सुधार गर्छौं । आजै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिन्छु ।’