प्रहरीका डिआइजी नवराज सिलवाल ‘सिपाही’मा घटुवा

काठमाडौं, असोज २२ ।
नेपाल प्रहरीका पूर्व्डिआइजी नवराज सिलवालले आफू अब एमालेको इमान्दार सिपाही भएको बताएका छन् । शुक्रबार बानेश्वरस्थित क्वालिटी ब्याङ्केटमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेको भिजनमा आफूले कार्यकर्ताका रूपमा सहयोग गर्ने बताए ।
‘देशलाई समृद्धितर्फ लैजान एमालेको जुन योगदान र जुन दृष्टिकोण छ, भिजन छ त्यसमा म एउटा कार्यकर्ताको रूपमा योगदान गर्नेछु,’ उनले भने, ‘हिजोसम्म म राज्यको इमान्दार सिपाहीको रूपमा मुलुकको सेवा गरिरहेको थिएँ, आज म एमालेको इमान्दार सिपाहीको रूपमा छु । म न्याय नपाएकाहरूलाई आवाज दिन तपाईँहरूसम्म आउनेछु ।’
आफूले उत्साहपूर्वक एमालेको राजनीति गर्ने र मुलुकका लागि काम गर्ने उनले बताए । आफ्नो मत्नव्यको सुरुवातमा पूर्व्डिआइजी सिलवालले रुसी कम्युनिष्ट नेता लेनिनको भनाइ उदृत गरेका थिए– राजनीतिलाई तपाईँले हस्तक्षेप गर्न सक्नुभएन भने राजनीतिले तपाईँलाई हस्तक्षेप गरिदिन्छ ।
आफ्नो जिन्दगीमाथि पनि ठूलो राजनीति भएकाले त्यसको उत्तर दिन राजनीति थालेको उनको जिकिर थियो । आफ्नो जीवनलाई अर्थपूर्ण बनाउन एमालेको राजनीति रोजेको उनको दाबी छ ।
एमाले र माओवादीबीच हुने भनिएको एकतालाई ऐतिहासिक भन्दै उनले यसको सुरुवात गरेको भन्दै एमाले अध्यक्ष केपी ओलीलाई युगपुरुषको उपमा दिए । एमाले अध्यक्ष ओलीले पनि सिलवाल लगायत एमाले प्रवेश गर्ने सबैलाई सही बाटोमा आएको भन्दै बधाइ र धन्यवाद दिए ।
‘हिँड्न त हिँडिन्छ तर, गलत बाटो हिँड्दा गलत ठाउँमै पुगिन्छ । तपाईंहरु सही बाटोमा आउनुभयो। तपाईंहरुका हरेक थोपा पसिना अब पानी हालेको र मलजल गरेको खेर जाँदैन,’ उनले भने । देश बनाउन भनेर एमालेमा सबै आएको भन्दै मिलेर मुलुक बनाउनु पर्ने पनि अध्यक्ष ओलीले बताए ।