प्रशासनको विज्ञप्तिले छेकेन पोखरेली दिदिबहिनीलाई तीज मनाउन

 

पोखरा, साउन ३२ ।

महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा यतिबेला पोखराका दिदिबहिनीहरुलाई तीज लागेको छ । शुक्रबार पोखराका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध महिलाहरु मिलेर तीज उत्सब एबं छलफल कार्यक्रमको आयोजना गरे । कार्यक्रममा सहभागी दिदिबहिनीहरुले पाटी प्यालेसमा दर पनि खाए साथै तीजे भाकामा छमछमी नाँचे पनि । कतिपय सहभागीले ब्यङ्ग गर्दे भने, खै त प्रशासन कतिबेला आउछ र समातेर लान्छ भनेको अहिले सम्म आएन त ।

छलफल कार्यक्रममा बोल्दै पोखरा उद्योग बाणिज्य संघका उपमहासचिब चिनु गुरुङले तीज पर्व नेपाली महिलाहरुले परापुर्बकाल देखि नै मनाउदै आएको धार्मिक एबं साँस्कृतिक पर्ब भएकाले कसैले बिज्ञप्ति निकाल्दैमा चाडपर्ब मनाउन पाउने मौलिक अधिकार नखोसिने बताईन् । नेपालको संबिधान २०७२ को धारा १९ र धारा ३८ ले कानुनी रुपमै सुनिश्चित गरेको अधिकारलाई कसैका अभियान वा प्रशासनका विज्ञप्तिले रोक्न सक्दैन भन्दै गुरुङ्ले दिदिबहिनीहरुलाई निर्धक्कसंग तीज मनाउन अनुरोध समेत गरिन् । समयसंगै चाडपर्ब मनाउने दायरा पनि फराकिलो हुंदै गएको छ, उनले भनिन्, ‘पाटी प्यालेसमा तीज मनाउनु, दर खानु समयले सृजना गरेको परिस्थिति मात्रै हो । यसमा कसैले बिबाद गर्न आबश्यक छैन ।’

महिला अधिकारकर्मी दुर्गा न्यौपानेले कास्की प्रशासनले जारी गरेको सुचना महिला बिरोधी भएको भन्दै अहिलेका महिला आफै सहि र गलत छुट्याउन सक्ने अबस्थामा पुगिसकेकाले प्रशासनले यो गर, त्यो नगर भनेर उपदेश दिन आवश्यक नभएको टिप्पणी गरिन् । तडकभडकको परिभाषा के हो भन्दै उनले पुरुषले ५० हजारका सुट, करोडका गाडी र लाख रुपैया पर्ने घडी लगाउदा तडकभडक नहुने महिलाले वर्ष दिनको चाडमा रातो साडी र तलिहरी लगाउदा तडकभडक हुने? उनले प्रशासनलाई प्रति प्रश्न गरिन् । हुदा खाने र हुने खाने बिचको विभेद दैनिक क्रियाकलापमै देखिदै आएको छ भन्दै उनले थपिन, ‘पैदल हिड्नेलाई लाग्दो हो स्कुटर चढ्नु तडकभडक हो । स्कुटर चढ्नेलाइ लाग्न सक्छ गाडी चढ्नु तडकभडक हो ।’ तीजमा महिलाले तडकभडक गरे भन्नु महिलाले लाएको, खाएको र रमाइलो गरेको देखिनसहने पितृसतात्मक सोच भएका ब्यत्तिहरुको संकीर्ण मानसिकताको उपज भएको उनको भनाइ थियो ।

सामाजिक अभियान्ता गौरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला उद्यमी हिरा भट्ठराई, मिलन थापा, क्रियाशिल पत्रकार महिला समुहका केन्द्रीय सदस्य दुर्गा अधिकारी, साहित्यकार एवं गायीका अम्बिका ढकाल, गायीका चन्द्रावती वाग्ले सामाजिक अभियान्ता कुलमाया क्षेत्री लगायतले जिल्ला प्रशासन कार्यलय कास्कीले साउन ९ गते प्रकाशन गरेको सुचना संविधान विपरित रहेको बताएका थिए ।

कार्यक्रमका बिषयमा बोल्दै सामाजिक अभियान्ता कमला गीरीले हामीले प्रशासनलाई नै चुनौती दिन कार्यक्रमको आयोजना गरेका हौ । केहि सामाजिक अभियान्ता भन्न रुचाउनेको लहैलहैमा लागेर प्रशासनले समग्र महिलाको बिचार नबुझि सुचना जारी ग¥यो जसका कारण कतिपय महिला अझैपनि तीजका कार्यक्रम गर्न डराइरहनु भएको छ । कतै पाटी प्यालेसमा तीज मनाउदा पक्राउ परिने त हैन भन्ने त्रास अझैपनि पोखरेली महिलाहरुमा पायौं, त्यस्ता महिलालाई सन्देश दिन पनि हामीले तीज मनाउने कार्यक्रमको शुरुवात ग¥यौं । निर्धक्कसंग आफ्नो गच्छे अनुसार तीज मनाउनुहोस् प्रशासनले रोक्न र छेक्न सक्दैन गीरीले सम्पुर्ण पोखरेली दिदिबहिनीहरुलाई अनुरोध समेत गरिन ।

कार्यक्रमको सहजीकरण क्रियाशिल पत्रकार महिला कास्कीका अध्यक्ष सरिता तिम्सिना पगेनीले गरेकी थिइन् । गत साउन ९ गते जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गरी होटल र पार्टी प्यालेसमा तीज मनाउनेलाई कारबाही गर्ने जनाएको थियो । प्रशाशनले तीजलाई भड्किलो हुनबाट रोक्न महंगा होटल र पार्टी प्यालेसमा दर खाने कार्यक्रम र भोजभतेर गर्नेलाई पक्राउ गरी कारबाही गर्ने समेत सूचना जारी गरेको थियो ।