प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाने

 

काठमाडौं, कार्तिक ३ ।

प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान जाने भएका छन् । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आगामी शुक्रबार र शनिबार हुने सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेको जनाएको छ ।

परराष्ट्रमन्त्रालयले दिएको जानकारी अनुसार, प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्रका सचिव शंकरदास बैरागीलगायत पनि भ्रमण टोलीमा रहनेछन् ।

समकालीन विश्वको चुनौतीका लागि ठोस प्रतिक्रिया सुनिश्चित गर्नका लागि वाङडुङ सिद्धान्तको उपयोगमा केन्द्रित हुने सम्मेलनमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, विभिन्न देशका राष्ट्र प्रमुखहरूसँग प्रधानमन्त्रीले भेटवार्ता गर्नेछन् ।

विश्वका विभिन्न देशहरूले असंलग्न परराष्ट्रनीति अंगाल्दै आइरहेका छन् । नेपाल लगायतका विश्वका यस्ता देशहरू लामो समयदेखि संगठित रहँदै आएका छन् ।

प्रधानमन्त्री ओली कात्तिक १० गते आइतबार लक्ष्मीपूजाका दिन स्वदेश फर्कनेछन् ।
(अनलाइनखबरबाट साभार)