प्रधानमन्त्री ओलिको अवस्था अन्यौल, प्रचण्डसहित नेताहरु धमाधम टिचिङमा

काठमाण्डौं, कार्तिक १२ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिको स्वास्थ्य अवस्था अन्यौल छ । श्वास प्रश्वासमा समस्या आएको भन्दै आज विहान ४ बजेट टिचिङ अस्पतालमा भर्ना गरिएको थियो । उनलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोभास्कुलर सेन्टरको आइसियूमा भर्ना गरिएको छ । डा.अरुण सायमी, प्रधानमन्त्रीका निजी चिकित्सक दिव्या सिंह र छाती रोग विशेषज्ञ डा. सन्तकुमार दासले ओलीको उपचार गरिरहेका छन् ।

केहीदिनदेखि उनलाई खोकीले च्यापेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । अस्वस्थताका कारण उनी पार्टीले शनिबार आयोजना गरेको चियापान समारोहमा पनि सहभागी हुन सकेका थिएनन् ।

केहीबेरपछि ओलीको फेरि स्वास्थ्य जाँच गर्ने तयारी छ । त्यसपछि स्वास्थ्य अबस्थाबारे जानकारी गराउने अस्पताल श्रोतले जनाएको छ । अझै केही दिन अस्पतालमै राखेर प्रधानमन्त्री ओलीको उपचार गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।