प्रधानमन्त्रीले उद्घाटन गरेको कोल्डस्टोर निर्माण नै अलपत्र

 

पर्वत, कार्तिक २५ ।

किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ । मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो ।

गाउँपालिकाले भने पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ । जिल्लाका किसानले उत्पादन गरेको आलु, सुन्तला, तरकारी, खाद्यान्नलगायत स्टोर गर्ने योजनाअनुरूप तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालका पालामा ०७३र०७४ मा निर्माण थालिएको थियो ।

कोल्डस्टोर बनाउन मोदी–२ देउपुरका खेमबहादुर हमालले जग्गा दिएपछि तत्काल पाँच आना जग्गामा भवन निर्माण शुरु गरिएको हो । निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाख बजेट आयो । “बजेट विनियोजन भएपछि काम थाल्यौँ”, उनले भने, “लागत मूल्याङ्कनअनुसार बजेट नआएपछि काम अघि बढेन । अपुग बजेट माग्ने दबाब पुगेन ।”

दुईतले चिस्यान केन्द्र निर्माणको काम एक वर्षमा सक्ने लक्ष्य थियो । तर लक्ष्यअनुसार काम गर्न बजेट अभाव भएपछि निर्माणकै क्रममा एक ढलान गरिएपछि अलपत्र छ । अहिले भवनको भुइँ तल्लामा स्थानीयले घाँस, पराल राखेर उपयोग गरिरहेका छन् ।

भवनको बाहिरी भागमा ठडिएका रड हिउँदे र वर्षे तरकारीका लागि थाँक्राका रूपमा प्रयोग गरिएको छ । भवन बेवारिसे भएपछि ढलान र प्लास्टरसमेत काम नलाग्ने भएको छ । समयमै सम्पन्न भएको भए प्रयोगमा आइसक्ने भवन अलपत्र हुँदा उपयोग गर्न नपाएको गुनासो स्थानीयको छ ।

देउपुर जिल्लामै धेरै सुन्तला उत्पादन हुनेमा दोस्रो गाउँ हो । यहाँ वर्षेनी तीन करोडको सुन्तला उत्पादन हुन्छ । मौसममा ३० देखि ४० प्रतिकिलोका दरले बिक्री गर्नुपर्ने सुन्तला चैतसम्म राख्नसके १५० मा बिक्री हुने किसानले बताएका छन् ।

विज्ञले कोल्डस्टोरको न्यूनतम मापदण्डसमेत पूरा नगरी भवन निर्माण भएकाले सम्पन्न हुन समस्या देखिएको बताउँछन् । कृषि ज्ञानकेन्द्र पर्वतका प्रमुख एवं कृषि विज्ञ वासुदेव रेग्मीले भवनको क्षेत्रफलअनुसार क्षमता कम हुने बताए । (रासस)