प्रधानमन्त्रीलाई दवाव दिन सातै प्रदेशका मुख्यमन्त्री पोखरामा

पोखरा, भदौ २० ।
नेपालका सातै प्रदेशका मुख्यमन्त्रीहरु पोखरामा भेला भएका छन् । विहिबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक हुँदैछ । यसअघि मुख्य न्यायधिबक्ताहरुको भेला गरिसकेको पोखराले विहिबार मुख्यमन्त्रीको पहिलो भेला आयोजना गरेको हो ।

यसअघि नै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सातै प्रदेशका मुख्यमन्त्री भेला गरेर सरकार विरुद्ध घेराबन्दी गर्ने चेतावनी दिएका थिए । अन्य प्रदेशका मुख्यमन्त्रीहरु पनि केन्द्र सरकारको कामप्रति सन्तुष्ट छैनन् । विशेषगरी केन्द्रले प्रदेशलाई अधिकार प्रत्यायोजन नगरेको उनीहरुको गुनासो छ ।

सार्वजनिक कार्यक्रमहरुमै मुख्यमन्त्री तथा प्रदेश सरकारका मन्त्रीहरुले केन्द्र सरकार प्रति असन्तुष्टी जनाईरहेका छन् । गण्डकी सरकारका प्रबक्ता रामशरण बस्नेतका अनुसार १, २ र ३ नम्बर प्रदेशका मुख्यमन्त्रीहरु पोखरा झरिसकेका छन् । बाँकी पनि विहिबार विहानै आईपुग्ने बताईएको छ । बैठकमा प्रदेश सरकारले हालसम्म गरेका काम र चुनौतिका बिषयमा छलफल हुनेछन् ।

स्रोतका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरूले आगामी भदौ २४ गते प्रधानमन्त्रीको अध्यक्षतामा हुने अन्तरप्रदेश परिषद्को बैठकमा एउटै एजेण्डा लैजाने तयारी गरेका छन् । त्यसैका लागि बैठक बोलाईएको बुझिएको छ । मुख्यमन्त्रीहरूको भेला होटल ग्राण्डमा आयोजना गरिएको छ ।