प्रधानमन्त्रीको विदेशमा मिर्गौला प्रत्यारोपण गरिने

काठमाण्डौं, मंसिर १५ ।
गएको साता नेपालमा केही ठूला घटना हुने तयारीमा थिए, पहिलो थियो नेपालमा हुन लागेको दक्षिण एशियाली खेलकूद तथा देशभर संघ, प्रदेश तथा स्थानीय तहमा हुन लागेको उप निर्वाचन । यसबाहेक नेपालको भूमि लिम्पियाधुरा, लिपुलेकमात्र नभई कालापानीसम्म ल्याएर भारतले आफ्नो सेना राखेको विषयले पनि लगातार मिडियामा स्थान बनाइरहेका थिए । साथै, मेडिकल कलेजले विद्यार्थीसँग बढी लिएको रकम फिर्ता नगरेको विषयमा पनि समाचार निरन्तर प्रकाशित हुँदै थिए । तर, प्रधानमन्त्रीको स्वास्थ्य समस्याको समाचारले अरु समाचार करिब ओझेलमै परे ।

गएको साताको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यको विषयमा एउटा सानो समाचार आयो । मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गाैलामा समस्या देखिएपछि गत महिनादेखि नियमितरुपमा डायलाइसिस गराइँदै आएको छ । यसै क्रममा मंसीर ८ गते आइतवार प्रधानमन्त्रीलाई ग्य्रान्डी अस्पतालमा डायलाइसिस गराइयो । प्रधानमन्त्रीको स्वास्थ्यको विषयलाई सबैजसो दैनिक पत्रिकाले प्रमुखताका साथ प्रकाशित गरे । सबैले गएको २६ दिनमा प्रधानमन्त्रीको चौथो डायलाइसिसको समाचार बनाए तर नयाँ पत्रिकाले तेस्रो डायलाइसिस भनेर लेख्यो ।

सोमवारका पत्रिकाले प्रधानमन्त्रीले भाग लिएका कार्यक्रमका समाचार प्रकाशित गरे । उनको स्वास्थ्य सम्बन्धमा खासै कुनै समाचार भएन । तर, सोमवार राति प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थामा समस्या देखियो । रातभर पेटको दुखाइले ग्रस्त ओलीलाई सोमवार मनमोहन कार्डियो थोरासिक अस्पताल लगियो । बुधवारको कान्तिपुरको शीर्षकले धेरैको मन झस्कियो । शीर्षक थियो, ‘प्रधानमन्त्री भेन्टिलेटरमा’ । प्रधानमन्त्रीलाई सोमबार एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको एपेन्डिक्स फुटेको नभई त्यसको वरपर संक्रमण फैलिएको थियो, जसलाई पेरिटोनाइटिस भनिन्छ । शल्यक्रियापछि प्रधानमन्त्रीलाई भेन्टिलेटरमा राखिएको थियो । साथमा कान्तिपुरले डा. राकेशकुमार साहको अन्तर्वार्ता पनि प्रकाशित ग¥यो जसमा अंग प्रत्यारोपण गराएका व्यक्तिमा एपेन्डिसाइटिसको शल्यक्रिया जोखिमपूर्ण हुने बताइएको थियो ।

प्रधानमन्त्री ओली भेन्टिलेटरमा भएको समाचार सबै दैनिकले एक समानरुपमा दिन सकेनन् । सोमवारनै अनलाइन पत्रिकाहरूले यस विषयमा समाचार दिएको भए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले सो विषय गलत भएको सूचना दिएका थिए । कान्तिपुरले बाहेक राजधानीले मात्र भेन्टिलेटरमा भएको शीर्षक दियो । नयाँ पत्रिकाले समाचारको पेटबोलीमा सो समाचार दियो । तर, नागरिक, गोरखापत्र, अन्नपूर्ण पोस्ट तथा हिमालय टाइम्सले भेन्टिलेटरमा भएको समाचार प्रकाशित गरेनन् । सतसठ्ठी वर्षीय प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य भएको समाचारमात्र औपचारिकरुपमा बाहिर आयो ।

बिहीवारका पत्रिकाका अनुसार भने प्रधानमन्त्रीको स्वास्थ्यमा निकै सकारात्मक परिवर्तन आएको थियो । शुक्रवारका पत्रिकामा फेरि समाचार केही फरक र्पयो । नयाँ पत्रिकाले प्रम ओलीले दाल र कालो चिया खाएको र केही भेटघाट गरेको समाचार दियो । कान्तिपुरले प्रधानमन्त्रीलाई रक्तकोषिका अर्थात् प्लेट्लेट्स दिइएको र डायलाइसिस गर्न जरुरत भएको समाचार दियो । अन्य सबै पत्रिकाले प्रधानमन्त्री कार्यालय तथा अस्पतालको औपचारिक स्वास्थ्य प्रतिवेदनको आधारमा समाचार बनाए ।

शनिवारका दैनिक पत्रिकाले प्रधानमन्त्री केपी शर्मा ओलीको आत्मविश्वासको प्रशंसा गर्दै समाचार प्रकाशित गरे । आइतवार नागरिकमा टपेन्द्र कार्कीले एउटा समाचार दिए जसअनुसार १२ वर्ष अघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम नगरेको कारण प्रधानमन्त्री ओलीलाई नयाँ मिर्गौला प्रत्यारोपण गर्न विदेश लैजाने तयारी गरिदैँछ । प्रधानमन्त्रीका दुई आफन्तले मिर्गौला दिन सहमति जनाएकाले भर्खरै गरिएको अपरेशनको घाउ निको हुनेबित्तिकै उनलाई विदेश लगिने सो समाचारले जनाएको छ ।