प्रधानमन्त्रीकोे निवासकै नक्सापास छैन

काठमाण्डौं, मंसिर २७ ।
नयाँ पत्रिका दैनिकमा नक्सापासविना बालुवाटारमा प्रधानमन्त्रीनिवास, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास बन्दै गरेको समाचार छ । बालुवाटारमा दुई रोपनी जग्गामा ४० करोड लगानीमा प्रधानमन्त्रीनिवास बन्दै छ, जसको २० प्रतिशत काम सकिएको छ । सिंहदरबारको पुतलीबगैँचाको १७३ रोपनीमा ६ अर्ब ९२ करोड लगानीमा संसद् भवन बन्दै छ । त्यस्तै भैँसेपाटीमा १२५ रोपनी जग्गामा ९७ करोड लगानीमा मन्त्रीनिवास बन्दै छ । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै नक्सापास नगरी काम धमाधम भइरहेको छ ।

नक्सापासविना भवन बन्न थालेकोमा विरोध गर्दै भैँसेपाटीका स्थानीय बासिन्दा महानगरपालिका पुगेर विरोध गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन बन्दै छ । तर, करिब २० प्रतिशत काम पूरा हुँदासमेत नक्सापास भएको छैन । प्रधानमन्त्रीनिवास मात्रै होइन, सिंहदरबारमा संसद् भवन र भैँसेपाटीमा मन्त्रीनिवास पनि नक्सापास नगरी बन्दै छन् । प्रधानमन्त्री स्वयंले शिलान्यास गरेको भन्दै ठेकेदारले तीव्र गतिमा काम गरिरहेका छन् ।

पत्रिकामा भिजिट भिसामा विदेश जानेहरूलाई अब अध्यागमन विभागले नरोक्ने भएको समाचार पनि छ । जोखिमपूर्ण देशमा जाने महिलाहरूलाई भने शंका लागेमा रोक्न पाउने भएको छ । भिजिट भिसाको नाममा काम गर्न जाने आशंकामा अध्यागमनले फर्काउँदा घुम्न र व्यापारिक कामले विदेश जानेसमेत मर्कामा पर्दै आएका थिए । नागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकार हनन भएको गुनासो बढेपछि तीन सातायता अध्यागमगनले भिजिट भिसामा जानेहरूलाई सहजै प्रस्थान अनुमति दिन थालेको छ ।

पर्यटक भिसामा विदेश जाने नाममा मानव तस्करी हुने भएकाले अध्यागमनले शंकास्पद व्यक्तिहरूलाई रोक्दै आएको थियो । तर, तोकिएअनुसार कागजपत्र बोकेका पुरुषहरूलाई अब नरोकिने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए । पासपोर्ट, भिसा, दुईतर्फी टिकट, स्पोन्सर लेटर वा एक हजार अमेरिकी डलर र होटेल बुकका कागजपत्र देखाएको अवस्थामा अध्यागमनले नरोक्ने जनाएको छ । विगतमा हरेक दिन १०–१२ जनालाई कागजपत्र हुँदा पनि शंकास्पद लागेको भन्दै अध्यागमनले फर्काउने गरेको थियो ।