प्रधानमन्त्रीका एडिसी राजेन्द्रबहादुर शाही डेढलाख सहित जुवाखालबाट पक्राउ

काठमाण्डौं, कार्तिक १६ ।
काठमाडौ । प्रधानमन्त्रीका एडिसी राजेन्द्रबहादुर शाही जुवाखालबाट समातिएका छन् । उनलाई महानगरीय प्रहरी विभाग गोंगबुले शुक्रबार राति एक लाख ५९ हजार रुपैयाँ नगदसहित जुवा खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रहरीले काठमाडौँको सामाखुसीबाट प्रधानमन्त्री केपी ओलीका सुरक्षागार्ड मेजर राजेन्द्रबहादुर शाहीसहित आठजना जुवाडेलाइृ नियन्त्रणमा लिएको हो । बिदामा बसेका दिन शाही जुवाखालबाट समातिएका हुन् ।

एडिसी शाही सहित आठजनालाई प्रहरीले सोमबहादुर मगरको घरमा चलाइएको जुवाखालबाट नियन्त्रणमा लिएको हो । समातिएकाहश्रलाई हिरासतमा राखी कारबाही अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

समातिएका मेजर शाही जुवाका अम्मली नै भएको प्रहरीले जनाएको छ । प्रहरीको नियन्त्रणमा पर्नेमा टोखा नगरपालिका १० का सोमबहादुर मगर, मानकाजी गुरुङ र धर्म शाह रहेका छन् । रामेछापको सुनापतिका बुद्धिलाल मगर, गोरखाका जित गुरुङ, किरणजंग शाह र सुर्खेत खानीखोलाका निरज राणा रहेका छन् । शाहीलाई प्रहरीले नेपाली सेनाको जिम्मा लगाउने तयारी गरेको छ ।