प्रदेश ६ को मुख्यमन्त्री एमालेले नछाड्ने

सुर्खेत, माघ ८ ।
प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ । सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको मुख्यमन्त्री माओवादीलाई दिन नसकिने निर्णय गरेको हो । यसका लागि केन्द्रलाई ध्यानाकर्षण गराउने बताइएको छ । प्रदेशसभा संसदमा ५० प्रतिशत मत रहेको अवस्थामा अर्को पार्टीलाई नेतृत्व सुम्पिन नसकिने एमालेले जनाएको छ । एकल सरकार बनाउन र सञ्चालन गर्न सक्ने दलको हैसियत कायम रहेको अवस्थामा मुख्यमन्त्रीमा दाबी गर्ने र यसका लागि केन्द्रलाई दबाव दिने निर्णय संसदीय दलले गरेको हो । बैठकपछि एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ६ का सहसंयोजक यामलाल कँडेलद्वारा जारी विज्ञप्तिमा एमालेका सतप्रतिशत उम्मेदवार विजयी गराउन सफल भएकाले पनि यो प्रदेश सरकारको नेतृत्वमा दाबी गर्ने र त्यसका लागि पार्टी केन्द्रको गम्भीर ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ । प्रदेश नम्बर ६ को ४० सदस्यीय प्रदेशसभामा एमालेका २०, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका ६ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको एक जना सांसद छन् । यो प्रदेशमा वाम गठबन्धनको दल माओवादी केन्द्रले दाबी गरिरहँदा एमालेको यस्तो निर्णय आएको हो। प्रदेश ६ को मुख्यमन्त्रीमा एमालेबाट प्रकाश ज्वाला र यमलाल कँडेल आकांक्षी छन् । तर, प्रदेश र प्रतिनिधिसभाको चुनाव अगाडि वाम गठबन्धनका दुई दलबीच पूर्व ऊर्जामन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई यो प्रदेशको मुख्यमन्त्री बनाउने सहमति भएको थियो । प्रदेशको संसदीय दलको बैठकले सुर्खेतदेखि काठमाडौं सीधा उडानको व्यवस्था मिलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ । यसका साथै सुर्खेतबाट प्रदेशका अन्य जिल्लाहरूमा समेत हवाई सेवा विस्तार गर्न पनि पहल गर्ने निर्णय बैठकले गरेको छ । एमाले संगठन कमिटिद्वारा यसअघि जारी गरिएको प्रदेशको सुशासन, आर्थिक विकास र समृद्धिको मार्गचित्रलाई अगाडि बढाई कार्यान्वयन गर्ने निर्णय समेत भएको नेता कँडेलले जानकारी दिए ।