प्रदेश ५ को मुख्यमन्त्री शंकर पोखरेल, आजै सपथ

बुटवल, फागुन ३ ।
प्रदेश ५ मा नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेल मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झा ले संविधानको धारा १६८ को उपधारा २ बमोजिम वाम गठबन्धनबाट प्रस्ताव गरिएका पोखरेललाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीका अनुसार पोखरेलको सपथ ग्रहण भने बिहीबार दिउँसो ३ बजे हुनेछ । मुख्यमन्त्रीको सपथकै दिन अरु २ मन्त्रीले पनि सपथ लिनेछन् । एमाले र माओवादी केन्द्रबाट १ १ जनाले सपथ लिने टुंगो लागेको छ ।
यसअघि आइतबार मुख्यमन्त्रीमा पोखरेललाई नियुक्त गर्न वाम गठबन्धन आबद्ध दल नेकपा एमाले र माओवादी केन्द्रले दाबी पेश गरेका थिए । एमाले र माओवादी केन्द्रको संसदीय दलका नेताले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुख उमाकान्त झा समक्ष संयुक्त रुपमा निवेदन दिएका थिए । ८७ सदस्यीय यो प्रदेशसभामा एमालेका ४१ र माओवादीका २० सदस्य छन् ।