प्रदेश ४ मा काँग्रेसको संसदीय नेता को बन्ला ?

पोखरा, माघ ८ ।
गठबन्धन भएमा यो प्रदेशमा काँग्रेसको सरकार हुँदैन । तर बलियो प्रतिपक्षी भने कायमै छ । १५ सीट जितेको काँग्रेसमा अहिले संसदीय दलको नेता को बन्ने भन्ने नामावली चर्चामा छन् । काँग्रेसबाट नवलपुरका सांसद कृष्णचन्द्र नेपाली संसदीय दलको नेतामा मुख्य दावेदार हुन् । नवलपरासीका काँग्रेस पूर्व सभापति र केन्द्रिय सदस्य समेत बनिसकेका उनी प्रदेशमा चुनाव लडेर मुख्य मन्त्री बन्ने दाउमा थिए । तर काँग्रेसको पराजयले उनको त्यो यात्रा लगभग टुंगिएको छ । यद्यपी संसदीय दलको नेता बन्ने अवसर कायमै छ । यता प्रदेश राजधानी र बलियो प्रतिश्पर्धामा चुनाव जितेका कास्कीका सांसद विन्दुकुमार थापा पनि बलिया दावेदार हुन् । प्रदेश राजधानी पोखरामा भएको कारण र उनी पनि पोखराकै सांसद भएका कारण उनलाई केही नेताहरुले दावेदारको रुपमा अघि सारेका छन् । काँग्रेस पूरै क्लिव स्विप भएको कास्कीमा बागी उम्मेदवारका बीच पनि उनले चुनाव जितेका थिए ।
समानुपातिक तर्फका सांसद संसदीय दलको नेता भए कुमार खड्का बलियो छन् । खड्का अखण्ड पार्टीलाई काँग्रेसमा बिलय गराएर प्रदेशको समानुपातिक सांसद बनेका हुन् । उनी हाल काँग्रेसको केन्द्रिय आमन्त्रित सदस्य पनि हुन् । खड्का पनि मुख्य मन्त्रीका लागि प्रदेश सांसद बनेका काँग्रेस श्रोत बताउँछ । तर पार्टीगत निर्णयकै आधारमा यहाँको संसदीय नेता तोकिने सम्भावना बुझिएको छ ।