प्रदेश ४ को सरकार गठन (यस्तो छ अंकगणित)

पोखरा, माघ ८ ।
आईतबार ४ नम्बर प्रदेशका सांसदहरुले शपथ लिएका छन् । शपथपछि अहिले मुख्यमन्त्री र सरकार गठनको बहस सुरु भएको छ । बाम गठबन्धनको बहुमत रहेको यो प्रदेशमा एमाले र माओबादीकै संयुक्त सरकार गठन हुने पक्काजस्तै छ । यद्यपी पार्टी एकीकरण र आन्तरिक तयारी सार्वजनिक नभएकाले यसै भन्न सकिने अवस्था छैन । एमाले एक्लैले ४ नम्बरको सरकार गठन गर्न सक्दैन । सरकार गठनका लागि चाहिने ३१ सीट माओबादी बाहेक एमालेको सामान्य कसरतबाट पनि पूरा हुन सक्छ । स्वतन्त्र भनिएका मनाङका सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) ले एमालेकै सहयोगमा चुनाव जितेका हुन् ।
उनी एमाले प्रबेश गर्ने र अपुग ३ सांसद जनमोर्चाबाट लिएपनि एमालेकै नेतृत्वमा सरकार गठन हुन सक्छ । एमाले एक्लैले यो प्रदेशमा २७ सीट पाएको छ । प्रत्यक्षमा १७ सीट जितेको छ भने १० जना समानुपातिक सांसद छन् । उता माओबादी केन्द्रले प्रत्यक्षतर्फ ९ र समानुपातिक ३ गरि १२ सीट पाएको छ । दुवैको मिलाउँदा ३९ सीट बाम गठबन्धनले मात्रै पाएको छ । अझै राष्ट्रिय जनमोर्चाको ३ जना जोड्दा ४२ सीट हुन्छ । काँग्रेसको यो प्रदेशमा १५ जना सांसद छन्, प्रत्यक्ष ६ र समानुपातिक ९ । बाँकी रहेको ३ सांसदमा नयाँ शक्तिको २ र १ जना स्वतन्त्र छन् ।