प्रदेश–३ को नाम ‘वाग्मती’, राजधानी ‘हेटौंडा’ नै कायम गरिने

 

हेटौंडा, पुस २५ ।

प्रदेश–३ को नेकपा संसदीय दलले प्रदेश नम्बर–३ को नाम ‘वाग्मती’ र स्थायी राजधानी हेटौंडालाई नै एकमतले पास गराउने निर्णय गरेको छ ।

पार्टी सचिवालयको निर्णयलाई नै एक भएर पास गराउने निर्णय भएको नेकपा प्रदेश नम्बर–३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

उनले विगतमा प्रदेशसभा सदस्यहरुले आ–आफ्नो हिसाबले मन्तव्य र विचार व्यक्त गरेको भएपनि एक भएर राजधानी र नामकरण टुंग्याउने सहमति भएको बताइन् ।

दलको निर्णयअनुसार नै मतदान हुने हुँदा ‘ह्वीप’ वा दन्डको डर वा त्रास देखाउने अवस्था नरहेको उनले बताइन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले संसदमा एउटामात्र प्रस्ताव लैजाने सहमति भएको जानकारी दिए ।

‘दलको बैठकमा प्रदेशसभा सदस्यको धारणा सुनेपछि संसदमा राजधानी हेटौंडा र नाम वाग्मतीमात्र प्रस्ताव पेस गर्ने निर्णय सर्वसम्मत भएको छ’–मुख्यमन्त्री पौडेलले भने ।

राजधानी र नाममा एउटारएउटामात्र प्रस्ताव पेस गर्न राखिएको प्रस्ताव सर्वसम्मतरूपमा पास भएको उनले बताए ।

यही पुस २७ गते प्रदेश नम्बर–३ ले स्थायी राजधानी मकवानपुरको हेटौंडा र नाम वाग्मती पाउने पौडेलको भनाइ छ ।

विकासलाई विस्तार गर्नुपर्छ भन्ने अवधारणाका साथ र दीर्घकालीन सोचका साथ हेटौंडालाई नै राजधानी र नाम वाग्मती राख्ने निर्णय भएको नेकपा प्रदेश नम्बर–३ का अध्यक्ष नारायण दाहालले जानकारी दिए ।

हेटौंडालाई राजधानी बनाउँदा समृद्ध नेपाल बनाउने अभियानमा धेरै हिसाबले बल पुग्ने र थुप्रै रणनीतिक कारणले पनि हेटौंडा उपयुक्त हुने उनको भनाइ थियो ।

‘नेकपाको संसदीय दलले एक ढिक्का र एकमतका साथ जाने निर्णय गरेको छ’–उनले भने ।

‘ह्वीप नलगाउँदा ‘फ्लोरक्रस’ हुन्छ कि ?’ भन्ने प्रश्नमा अध्यक्ष दाहालले कम्युनिस्ट पार्टीका कार्यकर्ता भएका कारण पार्टीको निर्णय नमान्ने भन्ने कुरा नहुने बताए ।

प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रसका २२, विवेकशील नेपालीका तीन, राप्रपाका एक, राप्रपा (संयुक्त)का एक र नयाँ शक्तिका एक सदस्य छन् । (रासस)