प्रदेश २ मा मुख्यमन्त्री फोरमलाई, सभामुख र तीन मन्त्रालय राजपालाई

जनकपुर, माघ २७ ।
संघीय समाजवादी फोरम र राजपाबीच प्रदेश २ को पद भागवण्डा मिलेको छ । अब प्रदेश २ मा दुई दलको संयुक्त सरकार गठन हुनेछ । फोरमको कार्यालय तीनकुनेमा शानिबार भएको वार्तामा पद भागवण्डा मिलेको हो । सहमतिअनुसार २९ सांसद रहेको फोरमले मुख्यमन्त्रीसहित उपसभामुख र तीन मन्त्रालय लिनेछ । उसले अन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पनि लिने सहमति भएको छ ।
राजपाले सभामुखसँग भौतिक पूर्वाधार, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने भएको छ । प्रदेशसभामा रापपाको २५ सांसद छ । फोरमले संसदीय दलको नेतामा लालबाबु राउत चयन गरिसकेको छ । उनी अब मुख्यमन्त्री हुनेछन् । फोरम र राजपाले प्रदेश २ को प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन बनाएर चुनाव लडेका थिए ।
हालै जनकपुरमा भएको दुई दलका शीर्ष नेताहरुको वार्तामा मिलेर सरकार बनाउन सहमत भएपनि पद भागवण्डा मिलेको थिएन । राजपाले मुख्यमन्त्रीमा आलोपालो गर्नु पर्ने, नभए सभामुखसहित प्रमुख मन्त्रालयहरु आफूले पाउनु पर्ने माग गरेको थियो । तर, शनिबार राजपा केही लचिलो भएपछि सहमति जुटेको छ । राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले यो सहमति ५ वर्षे कार्यकालका लागि भएको बताए ।