प्रदेश २ मा फरार अभियुक्त राज्यमन्त्री, लिए शपथ

पोखरा, साउन ९ ।
प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा उनको नाम समेत छ । र बुधबार तीनैजना राज्यमन्त्रीले शपथ लिएका छन् । शर्मा सहित सुरेश मण्डल, डिम्पलकुमारी झालाई बुधबार मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

‘संघीय सरकारले यस्तो गम्भीर विषयमा जानकारी भएर पनि चासो राखेन । फरार अभियुक्त आजबाट राज्यमन्त्री भए,’ एक नेताले भने ।’ राजपाले शर्मालाई सामाजिक विकास, झालाई भौतिक पूर्वाधार र मण्डललाई उद्योग, पर्यटन वन तथा वातावारण राज्यमन्त्रीका रूपमा सपथ ग्रहण गराएको हो ।

मधेश आन्दोलनका बेला जलेश्वरमा घाइते भएका सई अमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा बाटोमै हत्या गर्नेमा शर्माको संलग्नता रहेको अदालतले पुष्टि गरेको थियो । धनुषा जिल्ला अदालतले पक्राउ गर्न प्रहरीलाई आदेश दिए पनि पक्राउ गर्न सकेको थिएन । प्रहरीले फरार अभियुक्त सूचीमा राखेर उनको खोजी गरिरहेको थियो ।

राजपा अध्यक्ष मण्डल संयोजक महन्थ ठाकुरले सोमबार साँझ तीनै जनालाई राज्यमन्त्रीमा सिफारिस गरेका थिए । पार्टीले हत्या अभियोगमा फरार अभियुक्तलाई प्रदेश २ को राज्यमन्त्रीमा सिफारिस गरेकोमा पार्टी्भित्रै असन्तुष्टि बढेको थियो ।–सेतोपाटी