प्रदेश सांसद जीवनले लिए दुई बालिकाको अभिभावकत्व

पोखरा, वैशाख १२ ।

प्रदेश नं. ४ का प्रदेश सांसद रामजी बराल जीवनले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीका समिक्षा बराल र सृष्टि तामाङलाई कक्षा ३ मा भर्ना गरि अभिभावकत्व ग्रहण गरेका छन् ।

देशभर चलिरहेको विद्यार्थी भर्ना अभियान अन्तर्गत सांसद जीवनले बराल र तामाङलाई स्थानीय शुक्रराज माध्यमिक विद्यालयमा भर्ना गरि छात्रवृत्ति वितरण गरिएको हो । बालिकाहरुलाई सांसद जीवनले विद्यालयमा भर्ना गरि झोला, ड्रेस, कापी, कलम र वर्षभरी लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरि छात्रवृत्ति वितरण गरिएको छ ।

अभिभावकत्व ग्रहण गर्दै जीवनले अब शिक्षा समयसापेक्ष परिवर्तित हुनु मुलुकको आवश्यकता रहेको बताउँदै विद्यालय र विद्यार्थीको लागि जुनसुकै बेला सहयोग गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ का वडाध्यक्ष मित्रलाल बराल, विद्यालयका प्रधानाध्यापक नवराज पराजुली, वडा सदस्यहरु, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।