प्रदेश सरकार सुन्यबाट चलेको छ–मुख्यमन्त्री पोखरेल

पोखरा, भदौ २१ ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकार सुन्यताबाट सुरु भएको बताएका छन् । केन्द्र र स्थानीय सरकार पहिलेदेखि नै भएपनि प्रदेश चाहीँ नयाँ संरचना भएकोले केही जटिलता देखिएको उनले बताए । मुख्यमन्त्रीहरुको पहिलो भेलालाई पोखरामा सम्बोधन गर्दै उनले भेला प्रधानमन्त्रीलाई दवावका लागि नभएको प्रयट्याएका छन् ।

‘यो भेला दवाव समूह गठनका लागि हैन । संघीयता कार्यान्वयनको महत्वपूर्ण प्रयास हो, उनले भने–स्वभाविक रुपमा हामी नयाँ अभ्यासमा छौं । दुनियाँमा भएका संघीयता भन्दा फरक अभ्यास नेपालमा भएको हो । अरु देशमा दुईवटा तह छ नेपाल तीन तहको संघीयता कार्यान्वयन गरिरहेको छ ।’ उनले कुनैपनि प्रदेश र अन्तर सरकार एकअर्काका प्रतिश्पर्धी नभएको बताए ।

‘हामी कोही पनि एकअर्काका प्रतिश्पर्धी हैनौं, सहयोगी हौं । प्रदेश तह कमजोर पो बनेको रहेछ, डमरु भनेर पनि संज्ञा दिईयो । तर त्यो सत्य हैन, उनी भन्छन्–नेपालको संविधानले प्रदेशलाई अधिकार र दायित्वका हिसावले शक्तिशाली बनाएको छ । सुन्यबाट काम थालेकोले केही संरचना कमजोर छ ।’ सरकारले कर्मचारी र नेताहरुलाई अधिकारका बारेमा अभिमुखिकरण नगरेका कारण केही अन्यौलता देखिएको पोख्रेल बताउँछन् ।

‘संविधानले तीन तहको प्रशासन परिकल्पना गरेको छ । अहिलेको प्रशासन काजमा आएको जस्तो छ । तर कर्मचारी समायोजन नहुँदासम्मका लागि अस्थायी ब्यवस्थापन हो भन्ने हामीले बुझ्नुपर्छ, पोख्रेलले थपे–प्रणालीको सुधार गर्ने हो । ब्यक्तिलाई दोष दिएर हुँदैन । अहिले ब्यक्तिको मुल्यांकन केन्द्रिय कितावखानामा हुन्छ, उ स्वभाविक रुपमा केन्द्रको कुरा सुन्छ ।’ प्रणालीमा सुधार गरेर जतिसक्दो छिटो कर्मचारी समायोजन गर्नुपर्ने उनको सुझाव छ ।