प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री

काठमाडौँ, पुस २४ ।
सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने, “अहिलेसम्म यस विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने भोलि मन्त्रिपरिषद्को बैैठक पनि नबस्ने सम्भावना छ, प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुबै विषयमा सबै दलसँग सम्भव भएसम्म सरसल्लाह गरेर नै निर्णय गर्ने विचारले छलफल जारी राख्नुभएको छ ।”
उक्त निर्णयमा किन ढिलाइ भएको भन्ने जिज्ञासामा मन्त्री बस्नेतले सबैको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्री देउवाको मनसाय रहेको बताए । सबै दलको सहमति लिन खोज्दा केही ढिलाइ देखिएको धारणा व्यक्त गर्दै उनले संविधान निर्माणमा सबै दलको सहमति र योगदान रहेकाले कार्यान्वयनमा पनि सहमति होस् भन्नेमा सरकार रहेको स्पष्ट पारे । “तर दिन घर्किंदै गयो र ढिला हुन लाग्यो भने र समय बाँकी भएन भने सरकारले निर्णय लिन्छ”, उनले भने ।
उनले सर्वदलीय बैठकमा अन्य दलले उक्त जिम्मेवारी सरकारको हो भने पनि दलले आफूले भनेजस्तो भएन भने विरोध गर्ने ठाउँ राखेको धारणा व्यक्त गर्दै भने, “सबै दलले सरकारले निर्णय गरोस् हामी समर्थन गर्छौं भनेर स्पष्ट भन्नु प¥यो । हामी तत्काल निर्णय गर्छौं।” प्रदेश र अस्थायी केन्द्रको निर्णय एकैसाथ गर्नुपर्ने बताउँदै उनले एउटा मात्र निर्णय अपूरो हुने बताए । राष्ट्रियसभा निर्वाचनका लागि त्यससम्बन्धी अध्यादेश जारी भएपछि प्रक्रिया अघि बढेको बताउँदै उनले निर्वाचनका सबै संवैधानिक प्र्र्क्रिया पूरा गरेर सरकार सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताए । उनले भने, “त्यसअघि सरकारले चाहेर पनि सत्ता हस्तान्तरण गर्न सक्दैन ।”