प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?)

पोखरा, माघ ११ ।
प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन बोलाइएको छ भने प्रदेश १ मा मात्र बैठक आह्वान गर्न बाँकी छ । प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले माघ २१ का लागि पहिलो बैठक आह्वान गरेका छन् । उनले माघ ७ मा प्रदेशसभा सदस्यहरुलको सपथ सकिए लगत्तै पहिलो बैठकको आह्वान गरेका थिए । प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले माघ १८ का लागि प्रदेशसभाको पहिलो बैठक आह्वान गरेकी छिन् ।
प्रदेश ४ का प्रमुख बाबुराम कुँवरले माघ २२ गतेका लागि बैठक आह्वान गरेका छन् भने प्रदेश ५ का प्रमुख उमाकान्त झाले माघ २३ गतेका लागि पहिलो बैठक बोलाएका छन् । प्रदेश ६ मा पनि माघ २१ गतेका लागि पहिलो बैठकको तयारी थालिएको त्यहाँका प्रमुख दुर्गाकेशर खनालले जानकारी दिए । यस्तै, प्रदेश ७ को पहिलो बैठक पनि प्रदेश प्रमुख मोहनराज मल्लले माघ २१ गते नै बोलाएका छन् । संविधानको धारा १८३ मा प्रदेश प्रमुखले प्रदेशसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था गरिएको छ ।
मंसिर १० र २१ गते भएको प्रदेशसभाको निर्वाचनको अन्तिम परिणाम माघ ३ गते घोषणा भएको थियो । प्रदेश प्रमुखहरुले माघ ५ गते सपथ खाएपछि निर्वाचन आयोगले सोही दिन निर्वाचनको अन्तिम परिणाम बुझाएको थियो। त्यस्तै, प्रदेशसभाका सदस्यहरुले माघ ७ गते सपथ खाएका थिए ।