प्रदेशप्रमुखले ४० बर्षपछि जब आफ्ना गुरुलाई भेटे…..

पोखरा, फागुन २५ ।
प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले आफ्ना गुरु जोर्ज जोनलाई विहीबार भेटघाट गरेका छन् । पृथ्वीनारायण क्याम्पसमा आफूलाई पढाएका जोर्ज जोनलाई ४० वर्षपछि पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० स्थित उनकै निवास पुगेर प्रमुख कुवँरले भेटघाट गरेका हुन् । गुरुचेलाबिच करिब ४५ मिनेट भलाकुसारी भएको प्रमुख कुँवरका स्वकीय सहसचिव बिशाल कुँवरले जानकारी दिए । प्रमुख कुँवर आफ्नो घरमा आउने खबर पाएपछि जोर्ज जोन र उनकी धर्मपत्नी एलियामा जोन आफ्नो घरको गेटमै स्वागत गर्न आएका थिए । जोर्ज जोनसँग भेट्ने बित्तिकै प्रदेश प्रमुख कुँवरले दुवेको पाउँ लागेर दर्शन गरेका थिए । लगत्तै बैठक कोठामा बसेपछि जोर्ज जोन, प्रमुख कुवँर र एलियामा जोनबिच पारिवारिक कुराकानी भएको थियो । प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरले यो उमेरमा पनि यति स्वस्थ रहुनको राज के हो ? भन्दै आफ्ना गुरुलाई प्रश्न सोधेका थिए ।
‘म लगभग भेजिटेरियन जस्तै हुँ । कहिलेकाँही मात्रै माछा मासु चल्छ । अरु त त्यस्तो खास केही छैन’ ८६ वर्र्ष पुगेका जोर्ज जोनले आफ्नो चेलाको जिज्ञासा पढाउने शैलिमै बुझाए,‘यो सबै ईश्वरको कृपा र तपाइहरुजस्तै विद्यार्थीको मायाँले हो । अहिलेसम्म स्वस्थ छु ।’ त्यसपछि जोर्ज जोनले प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवरलाई घरपरिवारको बारेमा सोधपुछ गरे । बालबच्चा, उनीहरुको पढाइलेखाइबारे जानकारी लिए । आफैले पढाएको विद्यार्थी यो क्षेत्रको प्रमुख भएर आएकोमा साह्रै खुसी लागेको बताउँदै जोर्ज जोनले सँधै राम्रो गर्न आर्शिवाद समेत दिए । कुराकानीका क्रममा जोर्ज जोनले विद्यार्थीहरुबाट आफूले पनि थुप्रै व्यवहारिक गुणहरु सिकेको सुनाए ।
प्रदेश नं. ४ का प्रमुख बाबुराम कुँवर र जोर्ज जोन भेटघाट सकेर फर्कनै लाग्दा संचारकर्मी पुगेपछि उनीहरुलाई छोटो प्रतिक्रिया दिँदै प्रमुख कुँवरले गुरुकै निवास पुगेर उहाँलाई भेट्दा साक्षात ईश्वर भेटेको झै महसुस गरेको बताए । ‘म गुरु, आमाबुवा र पाहुनाको बहुत सम्मान गर्ने व्यक्ति हुँ’ उनले भने,‘आज ४० वर्षपछि गुरुलाई भेट्न पाउँदा म असाध्यै खुसी छु ।’ जोर्ज जोनले आफूले पढाएको विद्यार्थीले प्रगति गरेर निवासमै आएर भेट्दा त्योभन्दा अर्को ठूलो खुसी केही नभएको सुनाए । ‘मान्छे ठूलो पदमा पुगेपछि उसले तल हेर्दैन । तर आज एउटा विद्यार्थी यसरी आउनुभयो । यो मेरो सौभाग्य हो’ संचारकर्मीले मागेको प्रतिक्रिया दिँदै जोर्ज जोनले हाँस्दै भने,‘मलाई आफ्नै छोरो फर्केर आएकोजस्तो लाग्यो ।’ जोर्ज जोन ५९ वर्षदेखी पोखरामा बसिरहेका छन् । उनले पृथ्वीनारायण क्याम्पस पढाउँदा प्रदेश प्रमुख कुँवरले बिएल.को पहिलो व्याचका रुपमा यहि क्याम्पसमा अध्ययन गरेका थिए । पृथ्वीनारायण क्याम्पस स्थापना गर्नमा जोर्ज जोनको अग्रणी भूमिका छ । उनकै पहलमा यो क्याम्पस खुलेको हो । जोर्ज जोनका एक छोरो र छोरी छन् । छोरो अणु जोन सिंगापुरमा टेनिस प्रशिक्षकको रुपमा कार्यरत छन् भने बुहारी रञ्जना आचार्य डाक्टर हुन् । उनी पनि हाल सिंगापुरमै छिन् ।