प्रदेशकै मुख्य अस्पतालको कन्तबिजोग ! मूख्यमन्त्री भन्छन्–मेरो हातमा छैन

पोखरा, साउन १५ ।
सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अनुगमन गरे । आवश्यक उपकरण नहुँदा विरामीले सास्ती भोग्नुपरेको गुनासो दिनहुँ बढ्न थालेपछि उनी अनुगमनमा निस्किएका हुन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको यो अस्पताल गण्डकी प्रदेशकै प्रमुख अस्पताल हो ।

तर अत्यावश्यक उपकरण नहुँदा विरामी निकै मारमा परेका छन् । अस्पतालको सिटी स्क्यान १ बर्षदेखि विग्रिएको छ भने एमआरआई गर्ने मेसिन पनि छैन । अतिआवश्यक मेसिन नहुँदा विरामीहरु चर्को मूल्य तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।

अस्पतालमा सिटिस्क्यान नहुँदा केही दिनअघि त्रिशुलीमा बस खसेर घाईते भएका स्याङजाका लालबहादुर ज्वारचनलाई ४ वटा अस्पताल डुलाईएको थियो । तरपनि पोखरामा राम्रो उपचार नहुने भएपछि उनलाई काठमाण्डौं लगिएको छ ।

संघको अधिकार क्षेत्रभित्र पर्ने भएकोले सही निगरानी नपुगेको अस्पतालका डाक्टरहरु बताउँछन् । मुख्यमन्त्रीले पनि नेपाल सरकारको मातहतमा रहेकोले प्रदेश सरकारले सहयोगी र समन्वयको भूमिका मात्रै पूरा गर्ने बताए । ‘प्रतिष्ठान केपी ओली मातहत छ । पृथ्वीसुब्बाले के गर्न सक्छ र ?, उनले भने–प्रदेश सरकार सहयोगी मात्रै बन्न सक्छ ।’ अस्पतालका समस्या सुल्झाउन नेपाल सरकारसँग समन्वय गर्ने उनको प्रतिबद्धता छ ।