प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनारको सम्पूर्ण तयारी पूरा

 

पोखरा, माघ ९ ।

नेपाल मार्शल आर्टस् हाप्किडो संघको आयोजनामा यही माघ ११ र १२ गते पोखरामा हुने “प्रथम अन्तर्राष्ट्रिय मार्शल आर्टस् हाप्किडो सेमिनार–२०२०”को सम्पूर्ण तयारी पूरा भएको छ ।

संघले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर सेमिनारको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारको तयारी पूरा भएको जानकारी दिए ।

अध्यक्ष घर्तीमगरका अनुसार सेमिनारमा नेपालसहित २० देशका ग्राण्डमास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६ सय जनाको सहभागिता रहनेछ । सेमिनारमा अमेरिकाका ग्राण्डमास्टर ही क्वान ली, अष्ट्रियाका ग्राण्ड मास्टर गेरगार्ड अगरिज, रुसका ग्राण्डमास्टर डेमिड मोमोट, मेक्सिकोका ग्राण्डमास्टर एड्रिन गर्सिया, नेपालका मास्टर कालीबहादुर घर्तीमगर, आठौं सागका स्वर्णपदकधारी प्रकाश थापामगरलगायतले सेमिनारमा विशेष प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

सेमिनारको उद्घाटन अघि, पोखरा सभागृहबाट विभिन्न सांस्कृतिक झाँकीसहितको ¥याली सभागृहचोक, लखनचोक हुँदै पोखरा रंगशाला पुगेर कार्यक्रममा परिणत हुने अध्यक्ष घर्तीमगरले बताए । सेमिनारको उद्घाटनपश्चात् प्रशिक्षणसत्र सुरु हुने उनेले जानकारी दिए । २०७३ सालमा हाप्किडो संघको गठन भएपनि छोटो समयमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा अलग्गै पहिचान बनाउन सफल भएको अध्यक्ष घर्तीमगरको दाबी छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजना गरिएको सेमिनारले खेलकुद क्षेत्रबाट पोखरालाई विश्वभर चिनाउन मदत पुग्ने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य राजेश गुरुङले बताए ।

नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकी प्रदेशका अध्यक्ष एकराज गिरीले अन्तर्राष्ट्रियस्तरको हाप्किडो सेमिनारले पोखराका बारेमा थप सकारात्मक सन्देश प्रवाह हुने बताए ।

दक्षिण कोरियाबाट सुरु भएको हाप्किडो आत्मसुरक्षामा आधारित खेल हो । आत्मरक्षा र सामाजिक अनुशासनका लागि यस खेलले महत्वपूर्ण भूमिका खेल्ने संघका अध्यक्ष घर्तीमगरको भनाइ छ । उनका अनुसार सेमिनारको पूर्व तयारीका लागि केन्द्रीय समिति, गण्डकी प्रदेश समिति र जिल्ला समिति साथै, एक सय भन्दा बढी प्रशिक्षक एवं खेलाडीहरू एक महिनादेखि अहोरात्र खटिइरहेका छन् ।