प्याराग्लाईडिङ कम्पनीले टेरेनन् महानगरलाई, एकहप्ते म्यादमा पनि बुझाएनन् कर

पोखरा, फागुन २८ ।
पोखरामा सञ्चालित प्याराग्लाईडिङ कम्पनीले महानगरलाई तिर्नुपर्ने कर थपिएको म्यादभित्र पनि तिरेका छैनन् । अघिल्लो साता मंगलबार महानगरले कर नतिर्ने र महानगरमा दर्ता नभएका कम्पनीलाई प्याराग्लाईडिङ उडान बन्द गर्ने चेतावनी दिएपछि एक हप्ताको म्याद मागेका थिए ।

तर थपिएको म्यादभित्र पनि १० वटा कम्पनीले मात्रै कर तिरेका महानगरले जनाएको छ । ‘हप्तादिनमा १० वटा कम्पनीले मात्रै महानगरमा कर बुझाए । बाँकी केही कम्पनी सम्पर्कमा आएका छन्, वडा नम्बर १८ का अध्यक्ष रणबहादुर थापाले भने–अझै धेरै कम्पनी बाँकी नै छन् । एक दिन म्याद थप्ने कुरा भैरहेको छ ।’

भोलिसम्म म्याद थप्ने तयारी भएको उनले सुनाए । कर बुझाउने कम्पनीमा माउण्ट भ्यू प्याराग्लाईडिङ, मुनाल, ब्लु स्काई, हिमालय मिसन टु हिमालय, पिस हिमालय, फिनिक्स प्याराग्लाईडिङ एण्ड एडभेञ्चर, टिम फाईभ नेपाल, न्यू प्यारा प्रालि, अल्ट्रालाईट प्याराग्लाइडिङ र फ्लाई निर्वाणा प्याराग्लाईडिङ कम्पनीले मात्रै हालसम्म कर बुझाएको महानगरले जनाएको छ ।

आर्थिक बर्ष २०७१÷०७२ देखि पोखरामा उड्ने प्याराग्लाईडिङ कम्पनीले महानगरमा कर बुझाएका छैनन् । प्रत्येक कम्पनीले ८६ हजारका दरले कर बुझाउन बाँकी रहेको महानगरका राजश्व अधिकृत रोमनाथ उपाध्यायले जानकारी दिए । उनका अनुसार ५६ वटा कम्पनी दर्ता रहेको पोखरामा ४० हाराहारीमा मात्रै सक्रिय छन् ।