पोखरा २० का अध्यक्ष द्धारा सरकारी सेवा सुविधाको रकमबाट अति विपन्न र मजदुर परिवारलाई खाद्यान्न वितरण

गिता राना मगर, पोखरा १ वैशाख । कोरोनाको संक्रमण संगै यतिवेला मुलुकभर लकडाउन जारी छ । विगत तीन हप्तादेखी जारी रहेको लकडाउनका कारण मानिसहरु आफ्नो दैनिकी कामकाज गर्न पाएका छैनन । शहरमा बस्नेले खाद्यान्न किन्नका लागी खाद्यान्न पसलहरु खुलेको भएतापनि ग्रामीण भेगमा बसोबास गर्ने मजदुर र अति विपन्न परिवारका मानिसहरुलाई यतिवेला निकै सकस परेको छ ।

पोखरा महानगरले केही दिन अगाडि महानगरभित्रका ३३ वटै वडाका जनतालाई राहत स्वरुप खाद्यान्न वितरण गरेको भएतापनि त्यसले मजदुर र अति विपन्न परिवारमा खाद्यान्न पुग्न कठिन रहयो । त्यस्तै घटना पोखरा महानगरपालिका वडा नम्बर २० को साविक मौजा गाविसमा पनि केही घरधुरीका अति विपन्न र मजदुर परिवारका मनिसहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेको भएतापनि अधिकांश मजदुर, अति विपन्न र आर्थिक अवस्था कमजोर भएका मानिसहरु कतिपय भने राहत पाउनबाट बञ्चित हुन पुगे ।

त्यसैलाई मध्येनजर गरेर पोखरा महानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष सिम गुरुङले आफुले पाएको सरकारी सेवा सुविधाको रकमबाट ७५ घरधुरी परिवारका अति विपन्न र मजदुरहरुलाई खाद्यान्न सामाग्री वितरण गरेका छन । स्थानिय तहको चुनावमा भागलिदै गर्दा जनप्रतिनिधी चुनिएर आएपछि राज्यको कुनैपनि सेवा सुविधो उपभोग नगरीकन जनतालाईनै लाभ हुनेगरी खर्च गर्ने वचन वद्धता ब्यक्त गरेका वडा अध्यक्ष गुरुङ साच्चैनै यतिवेला मुलुकमा खाद्यान्नको संकटमा परेका अति विपन्न र मजदुरी गरी विहान कमाएर वेलुका छाक टार्ने जनताको घरमा चुलो बाल्न सफ भएका छन ।

गुरुङले कोरोनाको संक्रमणको विकराल अवस्थाका कारण मुलुकमा लकडाउनका कारण विहान वेलुका छाक टार्न धौ धौ भएका अति विपन्न र मजदुरका घरपरिवारलाई लक्षित गरी एक लाख २० हजार वरावरको खाद्यान्न वितरण गर्ने अभियानमा अगाडि वढेका हुन । सोही अनुरुप साविकको मौजा गाविसको ७६ घरधुरी अति विपन्न तथा मजदुर र कास्की बाहिरबाट सडकमा मजदुरी काम गर्दै आएका ओखलढुंगाका तीनजना मजदुरलाई खाद्यान्न सामाग्री प्रदान गरे । विगत तीन महिनादेखी साविकको मौजा जाने सडक खण्डमा काम गर्दै आएका ओखलढुंगाका तीन जना कामदार मजदुरले समेत वडा अध्यक्ष गुरुङले वितरण गरेको राहत हात पारे ।

तीन महिनादेखी सडकको काम गर्दै आएको भएतापनि पछिल्लो तीन हप्तादेखी लकडाउन जारी हुदा नौलो ठाउमा रहेका उनीहरुले खाद्यान्नको अभावमा सिस्नु, खोला छेउमा पाइने जलुका लगायतका सागपातको भरमा दिन विताउन परिरहदा वडा अध्यक्षले आफ्नो तर्फबाट खाद्यान्न वितरण गरेर आफुहरु भोकभोकै बस्ने समस्या टरेको इन्द्रसिंह लामाले वताए । आफुहरुलाई सडक निर्माण कम्पनीको ठेकेदारले समेत वास्ता नगरेको र घर फर्कन पनि पैसा अभाव र टाढा भएकाले निकै दुख कष्टका साथ दिन विताइरहदा वडा अध्यक्ष बाट प्रदान गरेको चामल, दाल, नुन र तेलले अव एक महिना सम्म खान पुग्ने समेत लामाले वताए ।

लामा जस्तै पोखरा २० आंटीघरका आइतसिंह परियार र कुमारी परियारले पनि आफुहरु लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएको र मजदुरी काम गर्न नपाउदा घरको चुलोमा आगो वोल्न समेत धौ धौ भइरहेको अवस्थामा यसअघि महानगरबाट वितरण गरेको राहत नपाउदा निकै पिडा खेपीरहदा वडा अध्यक्ष स्वयंले आफ्नो सेवा सुविधाबाट आफुहरु जस्तो मजदुर वर्गलाई राहत वितरण गरी भोकै बस्नबाट छुटकारा मिलेको वताए ।

वडाअध्यक्ष गुरुङले आफ्नो वडा वासीमा कोरोनाको महामारीका कारण भोकै बस्न बाध्य भएका अति विपन्न र मजदुर वर्गका परिवारलाई आपतको घडीमा खाद्यान्न वितरण गरी ठूलो राहत प्रदान गरेको स्थानिय समाजसेवी दुर्गा बहादुर गुरुङले वताए । साविकको मौजा गाविसमा अधिकांश दलित वस्ती भएको र उनीहरु मध्येपनि कतिपय घरपरिवार विहान दिउसो कमाएर वेलुका छाक टार्न धौ धौ भएका अधिंकांश विपन्न वर्गका परिवारले वडा अध्यक्षद्धारा वितरण गरेको राहत स्वरुपको खाद्यान्न सामाग्री पाएको गुरुङले वताए ।

वडा नम्बर २० का अध्यक्ष गुरुङले आफुले स्थानिय तहको निर्वाचनमा उमेदवार दिने क्रममा आफुले गरेको वाचा स्वरुप आफ्नो वडावासीलाई कोरोनाको कारण लकडाउनमा बस्न बाध्य भइ भोकै पर्ने अवस्थाका विपन्न र मजदुरलाई राहत वितरण गरेको वताए । पहिलो चरणमा साविकको मौजा गाविसका ७६ घरपरिवारलाई खाद्यान्न वितरण गरेको र दोश्रो चरणमा साविकको भलाम गाविसका अति विपन्न र मजदुर वर्गका परिवारलाई खाद्यान्न वितरण गर्ने वताए ।