पोखरा १६ को कालीखोला पक्की पुल बन्दै अब विकासका लागि राजनिति गरौ – मुख्यमन्त्री

पोखरा, असोज ५ ।
पोखरा महानगरपालिकाले वडा १६ को काली खोलामा पक्की पुल निर्माण गर्ने भएको छ । ३ करोड ३० लाखको लागतमा टुम्के र घोरकुनालाई जोड्ने पक्की पुल बन्न लागेको हो । पुलको आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गरे । आरसीसी मोटरेवल पुलको लम्वाई २५ मिटरको हुनेछ । आउदो बर्षको मंसिर भित्र पुल सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

फेवा पिएल जेभी कम्पनी पोखराले निर्माणको जिम्मा पाएको छ । पुलको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले राजनितिका लागि राजनिति नभई विकास लागि राजनिति गर्ने समय आएको बताए । विगतमा धेरै विकासका आयोजनामा भएको राजनितिका कारण विकासले फड्को मार्न नसकिएको समेत उनले बताए । उनले जनप्रतिनिधिहरु कुनै पार्टी विशेषको नहुने बताए । प्रदेशले योजना निर्माण गर्दा सवै सांसदहरुको सल्लाह, सुझाव र सिफारिशलाई आधार बनाइने समेत उनले बताए ।

पोखरा महानगरलाई आधुनिक बनाइन्छ

मुख्यमन्त्री गुरुङले पोखरा सहरलाई आधुनिक बनाउन ठुलो परियोजना अगाडि सारिएको समेत बताए । महानगरपालिकाको मेयर मान बहादुर जिसी र आफ्नो वीचमा यसमा छलफल भएको भन्दै पॉच बर्ष भित्र मुख्य सडकहरु चार लेनको बनाइने बताए ।

सहायक सडकहरु पनि २ लेनको बनाउने लक्ष्यका साथ आफुहरु आगडि बढेको मुख्यमन्त्री गुरुङको भनाई छ । पर्यटकको चाहानालाई ध्यान दिदै आधुनिक पार्कहरु र स्मार्ट ट्वाइलेटको योजनाहरु बनिरहेको उनले सुनाए । कार्यक्रममा सांसद विन्दु कुमार थापा प्रदेश सरकारले विकासको आयोजनामा छुट्याउदा पक्षपात गरिरहेको आरोप लगाए ।