पोखरा विश्वविद्यालय बन्द, विद्यार्थीको विरोध प्रदर्शन जारी

पोखरा, फागुन १५ ।
इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट पोखरा विश्वविद्यालयका विद्यार्थी र प्रशासनबीच वार्ता नहुँदा फेरि तनावपूर्ण स्थिति सिर्जना भएको छ । विद्यार्थीले उत्तरपुस्तिका पुनः जाँचको माग गर्दै अनसन जारी राखेका छन् भने बुधबार विश्वविद्यालय बन्द छ ।

तोडफोड र हातपात गरेको आरोपमा पक्राउ परेका पोखरा विश्वविद्यालयका ९ विद्यार्थी अस्तिमात्र रिहा भएका थिए । इन्जिनियरिङ सातौं सेमेस्टरको परीक्षाफलप्रति असन्तुष्ट विद्यार्थीले तोडफोड, आगजनी र हातपातसमेत गरेको आरोपमा २२ जना प्रक्राउ परेकोमा ९ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयले शुक्रबार सार्वजनिक अपराध मुद्दा लगाएको थियो ।

पक्राउ परेका १३ जनालाई रिहा गरेर बाँकीलाई प्रहरीले सार्वजनिक मुद्दा लगाएको हो । अब आइन्दा तोडफोड, आगजनी वा कुनै पनि अपराधजन्य काम नगर्ने कागज गरेर सोमबार विद्यार्थीलाई थुना मुक्त गरिएको थियो ।

परीक्षाफलमा लापरबाही गरिएको भन्दै पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, स्कुल अफ इन्जिनियरिङको भवन र स्ववियु कार्यालय लगायतमा तोडफोड गरेको आरोप विद्यार्थीमाथि थियो । विश्वविद्यालयमा तोडफोडबाट लगभग १५ लाख बराबरको क्षति भएको पोखरा विश्वद्यालयले जनाएको छ ।

सार्वजनिक अपराधको मुद्दा लगाइएपछि विश्वविद्यालयमा केही विद्यार्थीले आमरण अनसन थालेका थिए । विद्यार्थी रिहा भए पनि विद्यार्थीले अनसन भने तोडेका छैनन् । केही विद्यार्थीहरुले विश्वविद्यालय परिसरमा नाराबाजीसहित प्रदर्शन गरेका छन् । प्राध्यापकहरू पनि सुरक्षाको प्रत्याभुति नभएको भन्दै उपस्थित भएका छैनन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर बुढा, पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्मा, विभिन्न राजनीतिक दलका नेता, तिनका भातृ संगठन र विद्यार्थीबीच आइतबार साँझ छलफलसमेत भएको थियो । छलफलले विश्वविद्यालयमा भएको घटनाप्रति दुःख व्यक्त गरेको थियो । विद्यार्थीको मागलाई विश्वविद्यालयले सम्बोधन गरेर अनसन तोडाउने सहमति आइतबार साँझको सर्वपक्षीय सहमति थियो । तर, आफूहरुको माग सम्बोधन नभएको विद्यार्थीहरुको भनाइ छ ।