पोखरा विश्वविद्यालय–पक्राउ परेका विद्यार्थी रिहा नभए शैक्षिक हट्ताल गर्ने नेविसंघको चेतावनी

पोखरा, बैशाख १६ ।
पोखरा विश्वविद्यालयमा आन्दोलन गरिरहेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि नेपाल विद्यार्थी संघले त्यसको विरोध गरेको छ । क्याम्पसको बेथितिप्रति खवरदारी गर्दा उल्टै विद्यार्थीमाथी धरपकड गर्नु निन्दनीय भएको भन्दै तत्काल रिहा नभए मंगलबारदेखि कास्की जिल्लाभरी शैक्षिक हट्ताल गर्ने नेविसंघले चेतावनी दिएको छ ।

सोमबार विज्ञप्ती जारी गर्दै नेविसंघ कास्कीका सभापति विकास थापाले विद्यार्थीको तत्काल रिहा गर्न माग गरे । उनले माग सुनुवाई नभए अनिश्चितकालीन शैक्षिक संस्था बन्द गर्ने चेतावनी दिएका छन् । क्याम्पसले नियम विपरित डी ग्रेडका विद्यार्थीहरुलाई भर्ना गरेर परीक्षामा सहभागी गराएको विरोधमा विद्यार्थी संगठनहरुले विरोध गरिरहेका छन् ।

सोमबार सोही आन्दोलनमा लागेका नेविसंघका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो । परीक्षामा अवरोध गरेका कारण विद्यार्थी पक्राउ गरिएको कास्कीका एसपी ओम रानाले बताए ।