पोखरा विश्वविद्यालयमा तोडफोड, २२ विद्यार्थी प्रहरी नियन्त्रणमा

पोखरा, फागुन १० ।
पोखरा विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले स्ववियू सदस्य सहित विभिन्न संगठनका २२ बिद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ । विद्यार्थीहरुले विश्वविद्यालयको डिन कार्यालय र ग १ च ७१७८ नम्बरको गाडीको सिसा र कार्यालय भवनको झ्यालका सिसा फुटाएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए । गएराति इन्जिनियरिङतर्फ चौंथो वर्षका ७ औं सेमेस्टरका विद्यार्थीको परीक्षाफल प्रकाशन भएको थियो ।

सोही परीक्षाफल प्रकाशनमा अनियमितता भएको भन्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । विद्यार्थीको तोडफोडपछि बिहीबार विद्यालयको प्रशासन खुलेको छैन । उनीहरुले प्रशासनका कुर्चीमा आगजनी गरेको प्रहरीले जनाएकोे छ ।

विद्यार्थीहरुले परीक्षामा लापरबाही भएको भन्दै पुनः परीक्षा लिनुपर्ने माग गरेका छन् । विद्यार्थीले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । घटनाको विषयमा प्रशासन पक्ष र विद्यार्थीबीच वार्ता नभएको आन्दोलनमा संलग्न नेविसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।