पोखरा विश्वविद्यालयमा तनाव–नेविसंघका ४ विद्यार्थी पक्राउ

पोखरा, मंसिर २१ ।
पढाई सकिएका विद्यार्थीले स्ववियूबाट राजीनामा दिनुपर्ने माग सहित नेविसंघले आन्दोलन थालेपछि पोखरा विश्वविद्यालयमा तनाव सिर्जना भएको छ । कलेजको पढाई सकिएर पास भैसकेकाहरु पनि स्वतन्त्र विद्यार्थी यूनियनको पदाधिकारी कायम रहेकोले तत्काल राजीनामा दिनुपर्ने नेविसंघको माग छ ।

विश्वविद्यालय र स्ववियू कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ४ नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसंघका फिरोज सुवेदी, विकास रानाभाट, विष्णु सुवेदी र दीपेन्द्र गौतम छन् । उनीहरु आफ्नो मागको सुनुवाई नभएको भन्दै भिसी चिरञ्जीवी शर्मा र स्ववियू पदाधिकारीको कुर्सीमा आगजनी गरेका थिए ।

पढाई सकिएका स्ववियू पदाधिकारीको पदमुक्त हुनुपर्ने माग सहित उनीहरुले २४ घण्टे अल्टिमेटम दिएका थिए । अखिलले चाहीँ रजिष्टार गोविन्द शर्माको कुर्सीमा आगजनी गरेको विश्वविद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई केहीबेर डाँडाको नाक प्रहरी चौकीमा राखेर घर पठाईएको छ ।